१७ भाद्र २०८३, बुधबार

श्रावणको तेस्रो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

ड्रागन मिडिया समाचार कक्ष

चान्द्रमासअनुसार श्रावणको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

भक्तजनलाई सहज रूपमा दर्शन गराउन पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेशका लागि चारवटा लामको व्यवस्था गरिएको छ भने बोलबम यात्रीका लागि विशेष प्रबन्ध मिलाइएको छ।

बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा पूजा, आराधना र जल चढाउन आउने भक्तजनको चहलपहल बढेको छ। सुरक्षा, भीड व्यवस्थापन र दर्शन व्यवस्थालाई व्यवस्थित बनाउन कोष तथा सम्बन्धित निकायले आवश्यक जनशक्ति परिचालन गरेका छन्।

पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रमा सानो पशुपतिनाथका रूपमा परिचित मक्खन महादेवलगायत शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको छ।

देशका विभिन्न जिल्लामा रहेका शिवालयमा समेत बिहानैदेखि पूजा, भजनकीर्तन र धार्मिक अनुष्ठान भइरहेको छ। हिन्दू धर्मावलम्बीले श्रावण महिनाको सोमबारलाई भगवान शिवको पूजा–आराधनाका लागि विशेष दिनका रूपमा मान्ने गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button