विराटनगरमा देवेनारा समूहसँग सम्बन्धित दुई स्थानमा प्रहरीको खोजतलास

ड्रागन मिडिया समाचार कक्ष
मोरङ प्रहरीले विराटनगरस्थित देवेनारा समूहका सञ्चालकसँग सम्बन्धित दुई स्थानमा खोजतलास थालेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका एक उच्च अधिकारीका अनुसार विराटनगरको गोश्वारा रोडस्थित मुन्दडा परिवारको निवास र गोल्छा चोक उत्तरतर्फ रहेको जेजे ज्वेलर्समा सोमबार बिहानदेखि खोजतलास भइरहेको छ।
ती स्थानबाट कथित अवैध हुण्डी कारोबार तथा अन्य गैरकानुनी गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको ती अधिकारीले बताएका छन्। यद्यपि सूचनामा उल्लेख गरिएका विषय पुष्टि भइसकेका छैनन्।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडासँग सम्बन्धित जेजे ज्वेलर्स रहेको भवनमा प्रहरीको खोजतलास जारी छ। गोश्वारा रोडस्थित उहाँको निवासमा पनि सवारीसाधन तथा अन्य सामग्रीको जाँच भइरहेको बताइएको छ।
खोजतलासका क्रममा दुवै स्थान वरपर प्रहरी परिचालन गरिएको छ। अनुसन्धान जारी रहेकाले कारवाहीको आधार, खोजी गरिएका सामग्री र सम्भावित कारोबारबारे विस्तृत विवरण तत्काल सार्वजनिक गर्न नसकिने प्रहरी अधिकारीले बताएका छन्।
प्रहरीले प्रारम्भिक खोजतलासका क्रममा अहिलेसम्म कुनै ठूलो परिमाणको शङ्कास्पद वा गैरकानुनी सामग्री फेला नपरेको जनाएको छ।
खोजतलास सम्पन्न भएपछि बरामद सामग्री, कारोबारसम्बन्धी अभिलेख र थप कानुनी प्रक्रियाबारे आधिकारिक जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ।





