१७ भाद्र २०८३, बुधबार

भरी सिलिण्डरको एकैपटक माग बढ्दा खाना पकाउने ग्यासमा कृत्रिम अभाव

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौंसहित देशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखिएको छ। बजारमा ग्यासको आपूर्ति भइरहेको भए पनि भरी सिलिण्डरको प्रतीक्षामा रहेका उपभोक्ताले एकैपटक ग्यास खरिद गर्न थालेपछि माग अस्वाभाविक रूपमा बढेको नेपाल आयल निगमले जनाएको छ।

ग्यास नपाउँदा कतिपय उपभोक्ता दुईदेखि तीन दिनसम्म पसलमा लाइन बस्न बाध्य भएका छन्। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यासको आयात वा आपूर्तिमा अहिले कुनै ठूलो समस्या छैन। तर आधा सिलिण्डरको खपत घट्नु, भरी सिलिण्डर बजारमा आउँदा माग एकैपटक बढ्नु र वितरण प्रणाली प्रभावकारी रूपमा नियन्त्रण नहुनुले समस्या सिर्जना गरेको हो।

अमेरिका–इरान युद्धका कारण आपूर्तिमा केही असहजता देखिएपछि निगमले बजारमा ७.१ किलोग्राम अर्थात आधा सिलिण्डर ग्यास पठाएको थियो। निगमका अनुसार नेपालको मासिक ग्यास खपत सामान्यतया ४५ देखि ४६ हजार मेट्रिक टन हाराहारी हुन्छ।

आधा सिलिण्डर वितरण गर्दा बजारमा तत्काल अभाव नदेखिए पनि ग्यासको खपत उल्लेख्य रूपमा घटेको थियो। गत चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन मात्र ग्यास खपत भएको निगमले जनाएको छ।

ठाकुरका अनुसार धेरै उपभोक्ताले आधा सिलिण्डर नलिई १४.२ किलोग्रामको भरी सिलिण्डर आउने प्रतीक्षा गरेका थिए। आधा सिलिण्डरको माग घटेपछि सोहीअनुसार आयातसमेत कम हुँदा उद्योग र भन्सार क्षेत्रमा ग्यास बुलेटको नियमित आवागमन प्रभावित भएको थियो।

निगमले असार ३१ गतेदेखि पुनः भरी सिलिण्डर बजारमा पठाउने निर्णय गरेपछि लामो समयदेखि प्रतीक्षामा रहेका उपभोक्ताले एकैपटक ग्यास खरिद गर्न थालेका हुन्। यसले नियमित आपूर्तिले तत्काल धान्न नसक्ने गरी बजारमा माग बढाएको निगमको भनाइ छ।

साउन १ देखि १५ गतेसम्म बजारमा २६ हजार मेट्रिक टन ग्यास पठाइसकिएको ठाकुरले जानकारी दिएका छन्। दैनिक एक सयभन्दा बढी ग्यास बुलेट भारतमा लोड भइरहेको भन्दै उहाँले उपभोक्तालाई नआत्तिन आग्रह गर्नुभएको छ।

निगमका अनुसार घरमा प्रयोगयोग्य ग्यास मौज्दात भएका उपभोक्तासमेत थप सिलिण्डर भर्न लाइनमा बसेपछि तत्काल आवश्यक परेका परिवारले ग्यास नपाउने अवस्था बनेको हो। केही उपभोक्ताले दुईदेखि पाँचवटासम्म सिलिण्डर एकैपटक भरेर राख्ने प्रवृत्तिले पनि बजारमा कृत्रिम दबाब बढाएको जनाइएको छ।

ग्यास अभावको गुनासो बढी आएपछि निगमको पहलमा काठमाडौंको टेकुबाट समेत बिक्री शुरु गरिएको छ। निगमले त्यहाँ तत्काल आवश्यक भएका उपभोक्तालाई मात्र जान आग्रह गरे पनि घरमा ग्यास भएका उपभोक्तासमेत लाइनमा बस्दा वितरण प्रभावित भएको जनाएको छ।

कीर्तिपुरसहित काठमाडौंका विभिन्न स्थान र बाहिरी जिल्लामा पनि ग्यास नपाइएको गुनासो आएको छ। निगमका अनुसार आधिकारिक डिलरसँगै किराना पसलबाट समेत ग्यास बिक्री हुने गरेकाले वितरण प्रणालीको प्रभावकारी निगरानी नहुँदा सबै क्षेत्रमा समान रूपमा ग्यास पुग्न सकेको छैन।

ग्यास बिक्री गर्ने व्यवसायको अनुमति निगमले नदिने भएकाले सम्बन्धित सरकारी निकायले बजार अनुगमन र वितरण नियन्त्रण प्रभावकारी बनाउनुपर्ने ठाकुरको भनाइ छ। कालोबजारीको गुनासोपछि विभिन्न निकायले गरेको अनुगमनमा बजारमा ग्यास नै नगएको नभई पुगेको ग्यास तत्काल बिक्री भएर सकिएको देखिएको निगमले जनाएको छ।

निगमले हालको अवस्था सामान्य हुन एक हप्तादेखि १० दिनसम्म लाग्न सक्ने अनुमान गरेको छ। वितरण सहज बनाउन निगमले उपभोक्तालाई सम्बन्धित डिलर, वितरक वा ग्यास उद्योगसँग सम्पर्क गराउने र आवश्यक समन्वय गर्ने व्यवस्था मिलाएको जनाएको छ।

निगमले पर्याप्त ग्यास उपलब्ध रहेको दोहोर्‍याउँदै आवश्यकताभन्दा बढी सिलिण्डर भरेर नराख्न र तत्काल आवश्यक भएका उपभोक्तालाई प्राथमिकता दिन विक्रेता तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button