खगेन्द्र जिसी कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत

ड्रागन मिडिया समाचार कक्ष
नेपाली कांग्रेसका सभापति गगन थापाले खगेन्द्र जिसीलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।
पार्टीको विधान, २०१७ को एघारौँ संशोधनसहितको व्यवस्थाबमोजिम जिसीलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ। पार्टीलाई थप सुदृढ, गतिशील र व्यवस्थित बनाउन जिसीको योगदान तथा सहयोग महत्वपूर्ण रहने विश्वास सभापति थापाले व्यक्त गरेका छन्।
हाल अमेरिकामा रहेका जिसीले मनोनयनप्रति आभार व्यक्त गर्दै यसबाट कांग्रेसप्रति आस्थावान गैरआवासीय नेपाली समुदायले सम्मानित भएको महसुस गरेको बताएका छन्।
जिसीले नेपाली कांग्रेस गैरआवासीय नेपालीका आवाज सुन्ने मात्र नभई उनीहरूका पक्षमा उभिने पार्टी भएको उल्लेख गरेका छन्। गैरआवासीय नेपालीका सवाललाई पार्टीभित्र संस्थागत रूपमा उठाउन आफू प्रतिबद्ध रहने उनको भनाइ छ।
आमन्त्रित केन्द्रीय सदस्यका रूपमा जिसीले विदेशमा रहेका नेपाली समुदाय र पार्टी नेतृत्वबीच समन्वय, संगठन विस्तार तथा गैरआवासीय नेपालीसँग सम्बन्धित विषयलाई पार्टीको नीतिगत छलफलमा समावेश गर्न भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।





