नेपाल–मङ्गोलिया सहकार्य विस्तार र विद्यालय शिक्षामा चेस समावेशबारे छलफल

ड्रागन मिडिया समाचार कक्ष
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री तथा मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र मङ्गोलियाबीचको कूटनीतिक सम्बन्ध, साझा हित र बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
दुवै पक्षले नेपाल र मङ्गोलियाबीच भौगोलिक तथा सांस्कृतिक समानता रहेको उल्लेख गर्दै लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई शिक्षा र खेलकुदका क्षेत्रमा विस्तार गर्न सकिने धारणा व्यक्त गरेका थिए।
भेटमा विद्यालय शिक्षामा खेलकुद, विशेषगरी चेसलाई समावेश गर्ने सम्भावना तथा नेपाल र मङ्गोलियाका चेस फेडेरेसनबीच हुन सक्ने सहकार्यबारे विचारविमर्श भएको थियो।
मन्त्री पोखरेलले नेपाल र मङ्गोलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था र सांस्कृतिक विविधताको चर्चा गर्दै द्विपक्षीय सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले शिक्षा तथा खेलकुद क्षेत्रमा मङ्गोलिया सरकार र मङ्गोलियन चेस फेडेरेसनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। नेपालले विद्यालय शिक्षामै खेलकुदलाई समायोजन गरेर अघि बढ्ने नीति लिएको उल्लेख गर्दै उहाँले चेस प्रवर्द्धनका लागि मन्त्रालय सकारात्मक रहेको स्पष्ट गर्नुभयो।
मन्त्री पोखरेलले नेपाल चेस फेडेरेसन र मङ्गोलियन चेस फेडेरेसनबीच संस्थागत सहकार्यका लागि पहल गरिने बताउनुभयो।
पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मङ्गोलियाबीचको कूटनीतिक सम्बन्ध, भौगोलिक समानता र सांस्कृतिक रहनसहनबारे चर्चा गर्दै मङ्गोलिया पनि नेपालजस्तै भूपरिवेष्टित देश भएको तथा त्यहाँ बौद्ध धर्मावलम्बीको उल्लेख्य उपस्थिति रहेको बताउनुभयो।
उहाँले चेस केवल खेल नभई शिक्षाको महत्वपूर्ण माध्यमसमेत भएको उल्लेख गर्नुभयो। मङ्गोलियाले दक्षिण एसियासहित विश्वका विभिन्न देशसँग सहकार्य गर्दै चेसलाई विद्यालय शिक्षामा समायोजन गर्ने काम लामो समयदेखि गरिरहेको जानकारी उहाँले दिनुभयो।
जान्दानशातारका अनुसार चेसले विद्यार्थीमा समालोचनात्मक सोच, स्वतन्त्र निर्णय क्षमता, समस्या समाधान तथा बौद्धिक विकाससम्बन्धी शीप विकास गर्न सहयोग पुर्याउँछ।
मङ्गोलियामा विद्यालय शिक्षासँग चेसलाई एकीकृत गरिएको अनुभव सुनाउँदै उहाँले नेपालमा पनि यस्तै अभ्यास विस्तार गर्न मङ्गोलिया सरकार तथा मङ्गोलियन चेस फेडेरेसन सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो।





