१९ भाद्र २०८३, शुक्रबार

‘पेपरलेस धनगढी’ अभियानअन्तर्गत एकीकृत डिजिटल प्रणालीको पहिलो चरण सम्पन्न

ड्रागन मिडिया समाचार कक्ष

धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ अवधारणा कार्यान्वयनका लागि विकास गरेको एकीकृत डिजिटल प्रणाली ‘युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको साझेदारीमा विकास गरिएको प्रणालीको परीक्षणसमेत पूरा भएको उपमहानगरपालिकाले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

उपमहानगरपालिकाले आफ्ना सेवाहरूलाई प्रविधिमैत्री, छिटोछरितो र पारदर्शी बनाउने उद्देश्यले विभिन्न सफ्टवेयरलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरेको जनाएको छ।

उपमहानगर प्रमुख गोपाल हमालले नागरिकले कार्यालयमै पुगेर सेवा लिनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित प्रणाली सञ्चालनमा ल्याइएको बताउनुभएको छ।

उहाँका अनुसार प्रविधिमा अभ्यस्त नागरिकले घरमै बसेर उपमहानगरपालिकाका सेवा लिन सक्नेछन्। डिजिटल प्रणाली प्रयोग गर्न नसक्ने सेवाग्राहीका लागि कार्यालयमै आएर पहिलेकै प्रक्रियाबाट सेवा लिन सकिने व्यवस्था यथावत् रहनेछ।

उपमहानगरपालिकाको सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले प्रणालीबाट सेवा प्रवाह सहज हुनुका साथै जनसंख्या, अपाङ्गता भएका सेवाग्राही र करदाताको पहिचानसम्बन्धी तथ्याङ्क व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभएको छ।

एकीकृत प्रणालीमा नागरिकका आवश्यक विवरण सुरक्षित रहने र त्यसका आधारमा उपमहानगरपालिकालाई तथ्याङ्कमा आधारित नीति, कार्यक्रम तथा योजना निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ।

पहिलो चरणमा उपमहानगरपालिकाका १९ वटै वडाका सचिवलाई डिजिटल सेवा सञ्चालनसम्बन्धी तालिम दिइनेछ। नागरिक ई–केवाइसी, विभिन्न सिफारिस, फाइल ट्र्याकिङ तथा कर्मचारीको डिजिटल क्षमता विकासका कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।

डिजिटल साक्षरता कम भएका सेवाग्राहीका लागि उपमहानगरपालिका कार्यालयमा सहायता कक्ष स्थापना गरिएको छ। कक्षमा खटिएका कर्मचारीले सेवाग्राहीका विवरण प्रणालीमा दर्ता गरी आवश्यक सेवा प्राप्त गर्न सहयोग गर्नेछन्।

प्रणालीमार्फत जन्मदर्ता, नागरिकताका लागि आवश्यक सिफारिस, व्यवसाय दर्ता तथा नवीकरणलगायतका सेवा घरबाटै अनलाइनमार्फत लिन सकिने उपमहानगरपालिकाले जनाएको छ।

दोस्रो चरणमा विद्युतीय हस्ताक्षर मोड्युल, डिजिटल अभिलेख व्यवस्थापन, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन, कार्यालय टिप्पणी लेखन, डिजिटल भुक्तानी तथा राजस्व संकलन प्रणाली विकास गरिनेछ।

त्यसैगरी विकास निर्माणको अनुगमन, सार्वजनिक सूचना, कार्यालय विवरण, विपद व्यवस्थापन, तथ्याङ्क दृश्यावलोकन र डेटा सुरक्षासम्बन्धी प्रणालीलाई पनि एकीकृत डिजिटल प्लेटफर्ममा समावेश गरिने उपमहानगरपालिकाले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button