सात दिन हिरासतमा राख्ने माग अस्वीकृत, दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

ड्रागन मिडिया सम्वाददाता
जिल्ला अदालत भक्तपुरले व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिन अस्वीकार गर्दै रिहा गर्न आदेश दिएको छ।
आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका प्रसाईंलाई प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो। सरकारी वकिल कार्यालयले उनीविरुद्ध तीनवटा कसुरमा अनुसन्धान गर्न सात दिन हिरासतमा राख्ने अनुमति मागेको थियो।
प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउन म्याद मागिएको थियो।
तर जिल्ला अदालत भक्तपुरले अनुसन्धानका लागि प्रसाईंलाई हिरासतमै राख्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै म्याद थप गर्न अस्वीकार गरेको हो। अदालतले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
अदालतको आदेशपछि प्रसाईं सोमबार साँझ रिहा भएका छन्। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतबार राति नियन्त्रणमा लिएको थियो।
प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत हुन्।





