१९ भाद्र २०८३, शुक्रबार

भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम्बन्धी प्रस्तावमाथि आज प्रतिनिधिसभामा छलफल हुने

ड्रागन मिडिया सम्वाददाता

सङ्घीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, संरक्षण र स्थायी पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उक्त प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन तथा सुकुमवासीलाई सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरता सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

विस्थापित नागरिकलाई उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको प्रत्याभूति दिनुपर्ने विषय पनि प्रस्तावमा समेटिएको छ। वास्तविक भूमिहीन र सुकुमवासीलाई यथाशीघ्र जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइनेछ।

प्रस्तावको समर्थकमा सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहनुभएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि छ। आयोगले आर्थिक वर्ष २०८१/८२ को छैटौँ वार्षिक प्रतिवेदन प्रकाशित गरिसकेको छ।

यसैबीच, आज सङ्घीय संसदअन्तर्गतका पाँच संसदीय समितिका बैठक पनि बस्दैछन्।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। उक्त विधेयक प्रतिनिधिसभामा दर्ता भई समितिमा छलफलका लागि पुगेको छ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयकसम्बन्धी सैद्धान्तिक विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ।

बिहान १० बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे छलफल हुनेछ। पछिल्लो समय आपूर्ति, वितरण र उपभोक्ता हितसँग सम्बन्धित विषयलाई लिएर समितिले सम्बन्धित निकायसँग जानकारी लिन लागेको हो।

बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल गर्ने कार्यक्रम छ। प्रतिनिधिसभाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव यसअघि स्वीकृत गरिसकेको थियो।

समितिमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि छलफल हुनेछ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासनसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ।

आजका संसदीय गतिविधिमा भूमिहीन र सुकुमवासीको पुनःस्थापना, केन्द्रीय बैङ्कसम्बन्धी कानुनी सुधार, पर्यटन क्षेत्रको नयाँ कानुन, खाना पकाउने ग्यासको आपूर्ति र राष्ट्रिय अनुसन्धानसम्बन्धी कानुनी व्यवस्थाले प्राथमिकता पाउने भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button