१७ भाद्र २०८३, बुधबार

चितवनमा अनलाइन ठगीबाट एक वर्षमै १२ करोड २२ लाख गुम्यो

ड्रागन मिडिया सम्वाददाता

चितवनमा गत आर्थिक वर्षमा अनलाइन ठगीसम्बन्धी ५२१ वटा निवेदन दर्ता भएका छन्। ती निवेदनमा उल्लेख भएअनुसार पीडितहरूले अनलाइन ठगीबाट कुल १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ गुमाएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगी भएको रकममध्ये दुई करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ। यो कुल ठगी रकमको करिब १९ प्रतिशत हो।

पछिल्लो समय अनलाइन किनमेल तथा मार्केटिङ, सामाजिक सञ्जालमा पठाइने शङ्कास्पद लिङ्क, आकर्षक उपहार र अन्य प्रलोभनमार्फत ठगी गर्ने गतिविधि बढेको प्रहरीले जनाएको छ। ठगीका घटनामा सामान्यतः २०० रुपैयाँदेखि लाखौँ रुपैयाँसम्म गुमाएको विवरणसहित दैनिकजसो निवेदन आउने गरेको छ।

प्रहरीले अपरिचित व्यक्तिबाट आउने मित्रता अनुरोध स्वीकार नगर्न, शङ्कास्पद लिङ्क नखोल्न, बैंक खातासम्बन्धी विवरण, पासवर्ड र प्रमाणीकरण कोड अरूलाई नदिन तथा अस्वाभाविक रूपमा आकर्षक देखिने उपहार वा आर्थिक लाभका प्रस्तावप्रति सतर्क रहन आग्रह गरेको छ।

अनलाइन माध्यमबाट रकम ठगी भएको थाहा पाउनेबित्तिकै नजिकको प्रहरी कार्यालय वा सम्बन्धित सुरक्षा निकायमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ। घटनाबारे छिटो जानकारी गराउँदा रकम स्थानान्तरण रोक्न, सम्बन्धित खाता पहिचान गर्न र केही रकम फिर्ता गराउन सहज हुने प्रहरीको भनाइ छ।

चितवनमा गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी थप ३९० निवेदन दर्ता भएका थिए। तीमध्ये ३७५ निवेदन फर्छ्योट भएका छन् भने १५ वटा निवेदनमाथि अनुसन्धान तथा आवश्यक कारवाही बाँकी छ। यी निवेदनमा नेपाल प्रहरी प्रदेश कार्यालयसँग समन्वय गरी काम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसम्बन्धी ४११ निवेदन दर्ता भएका थिए। तीमध्ये ३९८ निवेदन फर्छ्योट हुँदा १३ वटा बाँकी रहेका थिए। अघिल्लो वर्षको तुलनामा निवेदनको कुल सङ्ख्या केही घटे पनि अनलाइन ठगीबाट गुमेको रकम र दैनिक आउने उजुरीले डिजिटल आर्थिक अपराध गम्भीर चुनौतीका रूपमा विस्तार भइरहेको देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button