देशभर मनसुन सक्रिय, पाँच प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशभर आज पनि मनसुनी वायुको प्रभाव कायम रहने भएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले अधिकांश क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थान र तराईका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्नेछ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र मधेश प्रदेशका एकदुई स्थानमा राति भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विभागको वर्षा निगरानी प्रणालीले छोटो समयमा अत्यधिक वर्षा हुँदा भिरालो क्षेत्रमा पहिरो तथा स्थानीय नदी र खोलामा आकस्मिक बहावको जोखिम हुन सक्ने जनाएको छ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम तथा बाढीसम्बन्धी सूचनाबारे नियमित जानकारी लिन आग्रह गरिएको छ।





