कन्सुलर कागजात प्रमाणीकरणलाई डिजिटल बनाउँदै ‘NEATS’ कार्यान्वयनमा ल्याइने

ड्रागन मिडिया सम्वाददाता
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण प्रक्रियालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ अर्थात ‘NEATS’ कार्यान्वयनमा ल्याउने भएको छ।
नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र तथा अन्य आधारभूत कागजातको कन्सुलर प्रमाणीकरणका लागि अनलाइनबाट आवेदन दिन सकिने गरी नयाँ प्रणाली विकास गरिएको विभागले जनाएको छ।
प्रणाली सञ्चालनमा आएपछि कन्सुलर प्रमाणीकरणका लागि आवेदन दिने प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सेवाग्राहीले आवेदन प्रक्रियाका प्रारम्भिक चरण अनलाइनबाट पूरा गर्न सक्ने भएकाले विभागमा हुने अनावश्यक भीड, समयको खर्च र प्रक्रियागत झन्झट कम गर्न प्रणाली उपयोगी हुने विश्वास लिइएको छ।
कागजात प्रमाणीकरणसम्बन्धी सेवा वैदेशिक अध्ययन, रोजगारी, बसोबास, पारिवारिक प्रक्रिया र अन्य कानुनी तथा प्रशासनिक प्रयोजनका लागि आवश्यक पर्ने गर्दछ। नयाँ प्रणालीले सेवाग्राही र विभागबीचको प्रक्रियालाई स्पष्ट बनाउनुका साथै आवेदन व्यवस्थापन र सेवा प्रवाहमा पारदर्शिता बढाउने लक्ष्य राखेको छ।
NEATS प्रणालीको औपचारिक शुभारम्भ साउन २९ गते दिउँसो ३ बजे परराष्ट्रमन्त्रीबाट गरिने कार्यक्रम रहेको छ। शुभारम्भ कार्यक्रम सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको तेस्रो तल्लामा रहेको सभाहलमा आयोजना हुने जनाइएको छ।
कन्सुलर सेवा विभागले यसअघि पनि कागजात प्रमाणीकरणलगायतका सेवा क्रमशः अनलाइन र डिजिटल प्रणालीमा रूपान्तरण गर्दै आएको छ। NEATS कार्यान्वयनलाई कन्सुलर सेवालाई नागरिकमैत्री, व्यवस्थित र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।





