सुनकोशीमा खसेको कारका तीनै यात्रुको पहिचान खुल्यो, खोजी जारी

ड्रागन मिडिया सम्वाददाता
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसको ठक्करपछि कारसहित सुनकोशी नदीमा बेपत्ता भएका तीनै जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा र तिनपाटन गाउँपालिका–९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर रहेका छन्।
लामा जुगल गाउँपालिका–७ का पूर्ववडाध्यक्ष, नेकपा एमालेका स्थानीय नेता तथा निर्माण व्यवसायी हुन्। प्रहरीको प्रारम्भिक विवरणमा दुर्घटनाका बेला कार लामाले चलाइरहेको उल्लेख छ। गणेश थापा एक्स्काभेटर चालकका रूपमा कार्यरत रहेको जनाइएको छ।
सोमबार बिहान हेमबहादुर तामाङले चलाएको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार अनियन्त्रित भई सडकबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीले बस चालक तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान शुरु गरेको छ।
बेपत्ता तीनै जनाको खोजीका लागि इलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी कार्यालय सिन्धुली र सशस्त्र प्रहरी बलको विपद व्यवस्थापनसम्बन्धी गोताखोर टोली परिचालन गरिएको छ। नदीको बहाव र पानीको अवस्थाका बीच खोजी कार्य निरन्तर अघि बढाइएको प्रहरीले जनाएको छ।





