जनकपुर प्रवेश अवरोधमाथि छानबिन र कारवाही गर्न हर्क साम्पाङको माग

ड्रागन मिडिया सम्वाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले जनकपुर भ्रमणका क्रममा आफूलाई जानकी मन्दिर प्रवेश गर्न नदिने प्रयास गरिएको घटनाप्रति आपत्ति जनाउँदै संलग्न व्यक्तिमाथि छानबिन गरी कानुनी कारवाही गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले कानुनी राज्यमा प्रत्येक नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्वाध आवतजावत गर्न पाउने अधिकार रहेको बताए। उनले घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइसकेको जानकारीसमेत दिए।
साउन ५ गते जनकपुरधामको जानकी मन्दिरमा साम्पाङलाई स्वागत गर्न पुगेका श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई एउटा समूहले अवरोध गरेको थियो। उक्त समूहले साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिने चेतावनीसमेत दिएको विवरण सार्वजनिक भएको थियो। घटनापछि साम्पाङले आफ्ना कार्यकर्तालाई संयम अपनाउन आग्रह गरेका थिए।
प्रतिनिधिसभामा साम्पाङले नागरिकलाई कुनै क्षेत्र, बाटो वा सार्वजनिक तथा धार्मिक स्थलमा जानबाट रोक्ने प्रवृत्तिले कानुनी शासनमाथि नै प्रश्न उठाएको बताए।
“जनकपुर जाँदाखेरी जसरी एउटा समूहले त्यहाँ निषेध गर्ने कोसिस गर्यो, यो कस्तो राज्य हो भन्ने मलाई अचम्म लागेको छ,” उनले भने, “कानुनी राज्य हो कि जङ्गली राज्य? मेरो घरको छेउमा नआइजा, मेरो बाटो नहिँड भन्ने खालको व्यवहार भइरहेको छ।”
उनले संसद सहमति निर्माण गर्ने थलो भए पनि सरकारले त्यसको मर्यादा र भूमिकालाई पर्याप्त सम्मान नगरेको आरोप लगाए। राष्ट्रिय सरोकारका विषयमा संसदमा उठेका प्रश्नको उत्तर दिन सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
साम्पाङले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्ट जवाफ माग गरे। प्रधानमन्त्री शाहले यसअघि संसदमा नेपालले पनि भारतीय भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको राजनीतिक तथा कूटनीतिक आलोचना भएको थियो।
उनले सभामुख डोलप्रसाद अर्यालले यस विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन नदिएकोप्रति असन्तुष्टि जनाए। अर्याल हाल प्रतिनिधिसभाका सभामुख हुनुहुन्छ।
साम्पाङले सभामुखलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदले स्पष्टता खोज्नुपर्ने बताए। “तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो?” भन्दै उनले सभामुखसमक्ष प्रश्न गरेका थिए।





