१९ भाद्र २०८३, शुक्रबार

तराईका आन्दोलनमा किन सिधै गोली चल्छ? सांसद सिंहको सरकारसँग प्रश्न

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले तराईमा हुने आन्दोलन तथा तनावका घटनामा सुरक्षा निकायबाट बारम्बार गोली प्रयोग हुने गरेको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। सिंह सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य हुन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेस प्रदेशका विभिन्न स्थानमा भएका साम्प्रदायिक तनाव, थारुहट आन्दोलन र विगतका आन्दोलनका क्रममा भीड नियन्त्रणका अन्य उपायभन्दा गोली प्रयोगलाई प्राथमिकता दिइएको बताए।

“म २०६३ देखि सांसद छु। मेरो प्रश्न राज्यसँग छ, मधेसमा साम्प्रदायिक, थारुहट तथा मधेश आन्दोलन हुँदा त्यहाँ गोली मात्र किन चल्छ?” उनले प्रश्न गरे, “त्यहाँ लाठी र टियर ग्यास किन चल्दैन?”

सिंहले आन्दोलन र तनाव नियन्त्रणका क्रममा अपनाउनुपर्ने विधिबारे सुरक्षा निकायलाई उचित प्रशिक्षण दिन सरकारसँग माग गरे। उनले प्रहरीलाई भीड नियन्त्रणका लागि आवश्यक लाठी, अश्रुग्यास र अन्य कम घातक उपकरण पर्याप्त रूपमा उपलब्ध गराउनुपर्ने बताए।

उनले सुरक्षा कारवाही नागरिकको जीवन जोगाउने र परिस्थिति नियन्त्रण गर्ने उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए। संवेदनशील क्षेत्रमा हुने प्रदर्शन तथा सामुदायिक तनाव नियन्त्रणका लागि संयमित, चरणबद्ध र प्रशिक्षित सुरक्षा परिचालन आवश्यक रहेको उनको भनाइ थियो।

सिंहले धार्मिक तथा साम्प्रदायिक तनाव दोहोरिन नदिन राज्य समयमै सचेत हुनुपर्ने बताए। उनले सबै समुदायलाई सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै आपसमा द्वन्द्व गर्नुको सट्टा मुलुकमा विद्यमान गरिबी, बेरोजगारी र पछौटेपनविरुद्ध एकताबद्ध हुन आग्रह गरे।

यसअघि पनि सिंहले तराईमा देखिएको धार्मिक तथा सामुदायिक तनाव अन्त्य गरी दीर्घकालीन सामाजिक–आर्थिक विकासका लागि सबै समुदायबीच एकता आवश्यक रहेको बताएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button