१९ भाद्र २०८३, शुक्रबार

सुस्तामा एसएसबी प्रवेश गरेको घटनाबारे सरकारसँग जवाफ माग

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले)का सांसद गुरु बरालले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको घटनाबारे सरकारसँग जवाफ माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले एसएसबीका सुरक्षाकर्मी सादा पोषाकमा नेपाली क्षेत्रमा प्रवेश गरेको दाबी गर्दै सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार मौन रहन नहुने बताए।

सुस्ता गाउँपालिका–५ मा नेपाली पक्षले निर्माण गरिरहेको अस्थायी बाँध एसएसबीका सुरक्षाकर्मीले भत्काएको आरोपपछि स्थानीय बासिन्दाले विरोध गरेका थिए। स्थानीयले प्रतिकार गरेपछि भारतीय सुरक्षाकर्मी फर्किएको विवरण सार्वजनिक भएको छ। यद्यपि घटनाको पूर्ण विवरण सरकारी निकायबाट औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन।

बरालले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा उत्पन्न हुनुका साथै राष्ट्रिय स्वाभिमानमा चोट पुग्दासमेत सरकारले पर्याप्त संवेदनशीलता नदेखाएको आरोप लगाए।

“आज फेरि देशको भूमिमा भारतीय सुरक्षाकर्मी सिभिल ड्रेसमा प्रवेश गरेका छन्। सुस्ताको जमिनमाथि फेरि चोट पुर्‍याइएको छ र सुस्ताबासी प्रतिवादमा उत्रिनुपरेको अवस्था छ,” उनले भने।

सीमा सुरक्षाको विषयमा संसदबाट पटकपटक सरकारको ध्यानाकर्षण गराउनुपर्ने अवस्था लज्जास्पद भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे।

सुस्ता क्षेत्रमा यसअघि पनि एसएसबीका सुरक्षाकर्मी प्रवेश गरेको भन्दै स्थानीयले विरोध जनाएका थिए। त्यस्तो घटनापछि सरकारले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कदम चालिने जनाएको थियो।

बरालले सुनसरीमा भएको धार्मिक तथा साम्प्रदायिक तनावको कारण, सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी र राज्यका निकायको भूमिकाबारे निष्पक्ष छानबिन गर्नसमेत माग गरे।

उनले सामाजिक सद्भाव कायम राख्दै सीमा सुरक्षा र आन्तरिक शान्तिसुरक्षाका विषयमा सरकारले स्पष्ट, जिम्मेवार र परिणाममुखी कदम चाल्नुपर्नेमा जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button