१९ भाद्र २०८३, शुक्रबार

कोशीको नेतृत्व विवाद मिलाउन ओलीले तीन नेतालाई गुन्डु बोलाए

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर पार्टीभित्र बढेको विवाद समाधान गर्न प्रदेशका तीन प्रमुख नेतालाई भक्तपुरको गुन्डुस्थित आफ्नो निवासमा बोलाएका छन्।

पार्टी श्रोतका अनुसार छलफलका लागि एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बोलाइएको हो। बैठकको समय र छलफलका कार्यसूचीबारे एमालेले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने तयारीसँगै एमालेभित्र विवाद चर्किएको छ। अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा ताप्लेजुङका प्रदेशसभा सदस्य तथा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अघि सार्न चाहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। ओलीले यसअघि मेन्याङ्बोलाई गुन्डुमा बोलाएर नेतृत्व परिवर्तनको सम्भावनाबारे छलफलसमेत गरेका थिए।

अध्यक्ष ओलीको सन्देश लिएर विराटनगर पुगेका प्रदेश इन्चार्ज राईले मुख्यमन्त्री कार्कीलाई पदबाट राजीनामा दिई नयाँ नेतृत्वका लागि बाटो खुला गर्न आग्रह गरेका थिए। कार्कीले भने पार्टीको सचिवालय वा सम्बन्धित कमिटीको औपचारिक निर्णयबिना मौखिक निर्देशनका आधारमा पद नछाड्ने अडान राखेका छन्।

कार्कीले आफू एमाले संसदीय दलको नेताका रूपमा मात्र नभई संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेशसभाका ६९ सदस्यको विश्वास प्राप्त गरी मुख्यमन्त्री बनेको तर्क गरेका छन्। उनले राजीनामापछि प्रदेशमा संवैधानिक र राजनीतिक जटिलता उत्पन्न हुन सक्ने भन्दै नेतृत्व परिवर्तन विधि र प्रक्रियाबाट हुनुपर्ने बताएका छन्।

राईले विराटनगरमा चार दिनसम्म पार्टीका प्रदेशसभा सदस्यसँग छलफल गर्दै कार्कीको विकल्पमा समर्थन जुटाउने प्रयास गरेका थिए। तर एमालेका सबै ३९ प्रदेशसभा सदस्यलाई मेन्याङ्बोको पक्षमा एकमत गराउन नसकेपछि विवाद केन्द्रीय नेतृत्वसमक्ष पुगेको पार्टी श्रोतको भनाइ छ।

कार्कीलाई संसदीय दलको नेताबाट हटाउन प्रदेशसभा सदस्यको हस्ताक्षर सङ्कलनसमेत शुरु गरिएको छ। एमाले संसदीय दलको विधानमा दलका नेताविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न कायम सदस्य सङ्ख्याको दुईतिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था रहेको दाबी कार्की पक्षले गरेको छ। ओली पक्षले भने उक्त प्रावधानको वैधानिकतामाथि प्रश्न उठाउँदै आवश्यक परे विधान संशोधन गरेर नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ।

मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव अघि बढाउन एमालेको एउटा पक्षले तयारी गरे पनि त्यसका लागि सत्ता साझेदार दलको समर्थन आवश्यक पर्ने देखिएको छ। नेपाली कम्युनिस्ट पार्टीले एमालेको आन्तरिक विवादमा सहभागी नहुने प्रतिक्रिया दिएको विवरण सार्वजनिक भएको छ।

गुन्डु बैठकमा ओलीले राई, खतिवडा र कार्कीलाई सहमतिमा ल्याउने प्रयास गर्ने अपेक्षा गरिएको छ। सहमति नजुटे कोशी प्रदेशको विवाद पार्टीको औपचारिक निर्णय, संसदीय दलको प्रक्रिया वा प्रदेशसभामा शक्ति परीक्षणतर्फ जान सक्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button