१९ भाद्र २०८३, शुक्रबार

चिनियाँ शहरमा गिग श्रमिकको नयाँ भूमिका : डेलिभरीसँगै समुदायको सेवा

ड्रागन मिडिया समाचार कक्ष

बेइजिङका व्यस्त सडकमा पहेँलो ज्याकेट लगाएर विद्युतीय स्कुटरमा खाना पुर्‍याउँदै हिँड्ने ३७ वर्षीय चाङ मङमङ अहिले केवल डेलिभरी राइडरका रूपमा मात्र परिचित छैनन्। उनी स्थानीय समस्याको जानकारी दिने, अप्ठ्यारोमा परेका मानिसलाई सहयोग गर्ने र आपतकालीन अवस्थामा तत्काल अग्रसर हुने ‘सामुदायिक सहायक’समेत बनेका छन्।

सिन्ह्वाका अनुसार चाङ बेइजिङको सिचङ जिल्लास्थित तशङ उपजिल्लाले सञ्चालन गरेको सामुदायिक स्वयंसेवी कार्यक्रममा आबद्ध छन्। यस कार्यक्रममा खाना डेलिभरी गर्ने राइडर, कुरियर, अनलाइन ट्याक्सी चालक र नयाँ प्रकारका रोजगारीमा संलग्न अन्य श्रमिकलाई समुदाय सेवासँग जोडिएको छ।

चाङका अनुसार उनका सहकर्मीहरूले उकालोमा सामान बोक्ने ठेला धकेल्न सहयोग गर्ने, वर्षाका बेला रेनकोट उपलब्ध गराउने र एक्लै बस्ने ज्येष्ठ नागरिकलाई आवश्यक सहायता पुर्‍याउने गरेका छन्।

यस वर्षको शुरुमा एक महिला चिसो नदीमा खसेको देखेपछि चाङले तत्काल उद्धारमा सहयोग गरेका थिए। उनको साहस र सामाजिक जिम्मेवारीको सम्मान गर्दै स्थानीय अधिकारीहरूले उनलाई उत्कृष्ट सामुदायिक सहायकको उपाधि दिएका छन्।

कार्यक्रममा सहभागी श्रमिकहरूले दैनिक यात्राका क्रममा देखेका बिग्रिएका ढलका ढकनी, काम नगरेका सडकबत्ती र अन्य सार्वजनिक समस्या विच्याट समूहमार्फत स्थानीय निकायलाई जानकारी गराउँछन्। उपजिल्ला प्रशासनले ती समस्या समाधानका लागि तत्काल सम्बन्धित निकाय परिचालन गर्छ।

समुदायका लागि योगदान गर्ने सहभागीलाई अङ्क प्रदान गरिन्छ। ती अङ्क दैनिक आवश्यकताका सामग्रीसँग साट्न सकिन्छ। चाङले पुरस्कारले असल कामलाई निरन्तरता दिन प्रोत्साहन गरे पनि अरूलाई सहयोग गर्न पाउँदा प्राप्त हुने सन्तुष्टि आफ्नो प्रमुख प्रेरणा भएको बताएका छन्।

बेइजिङको यो अभ्यास चीनका विभिन्न शहरमा नयाँ प्रकारका रोजगारीमा संलग्न श्रमिकलाई स्थानीय सेवा र सामाजिक व्यवस्थापनमा सहभागी गराउने विस्तारित प्रयासको एउटा उदाहरण हो।

चीनमा खाना डेलिभरी, कुरियर सेवा, अनलाइन ट्याक्सी र डिजिटल मञ्चमा आधारित अन्य क्षेत्रमा करिब आठ करोड ४० लाख मानिस कार्यरत छन्। निरन्तर यात्रामा रहने, स्थानीय क्षेत्रको राम्रो जानकारी राख्ने र बासिन्दासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूलाई समुदायका समस्या छिटो पहिचान गर्न सक्ने महत्त्वपूर्ण समूहका रूपमा हेरिएको छ।

साङहाईको सोङनान शहरमा कुरियरहरूले आफ्नो दैनिक अनुभवका आधारमा आवासीय क्षेत्रको पार्सल राख्ने स्थान पुनःडिजाइन गर्न सुझाव दिएका थिए। उनीहरूको सुझावपछि सवारी पार्किङ, सामान छुट्याउने ठाउँ र डेलिभरी व्यवस्थापनलाई श्रमिक तथा स्थानीय बासिन्दा दुवैका लागि सुविधाजनक बनाइएको छ। स्थानीय अधिकारीहरूका अनुसार डेलिभरी श्रमिकहरू समुदायभित्रका समस्या सबैभन्दा पहिले देख्ने समूहमध्ये पर्छन्।

चच्याङ प्रान्तको हाङचौमा स्थानीय निकाय र डेलिभरी कम्पनीहरूले राइडर उद्धार टोली स्थापना गरेका छन्। टोलीका सदस्यलाई प्राथमिक उपचार, रक्तस्राव नियन्त्रण र घाउमा पट्टी लगाउनेलगायत आपतकालीन सहयोगसम्बन्धी प्रशिक्षण दिइएको छ। नियमित कामकै क्रममा उनीहरूले आवश्यक पर्दा तत्काल सहायता उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।

दक्षिण चीनको शनचनमा डेलिभरी राइडरलाई स्वचालित बाह्य डिफिब्रिलेटर उपकरण आपतकालीन घटनास्थलमा छिटो पुर्‍याउने व्यवस्थामा सहभागी गराइएको छ। यस्तो अभ्यासले शहरमा निरन्तर आवतजावत गर्ने श्रमिकको गतिशीलतालाई सार्वजनिक जीवनरक्षासँग जोडेको छ।

चीनका केन्द्रीय अधिकारीहरूले अप्रिलमा नयाँ प्रकारका रोजगारीमा संलग्न श्रमिकको अधिकार र हितको संरक्षण बलियो बनाउने दिशानिर्देश जारी गरेका थिए। दिशानिर्देशले उचित पारिश्रमिक, समयमै भुक्तानी, डिजिटल मञ्चका एल्गोरिदमको पारदर्शिता र श्रमिकको सामाजिक सहभागितामा जोड दिएको छ।

यी स्थानीय अभ्यासले गिग श्रमिकलाई सेवा प्राप्त गर्ने समूहका रूपमा मात्र नभई शहरको सामाजिक व्यवस्थापन, सार्वजनिक सुरक्षा र समुदाय निर्माणमा योगदान गर्ने सक्रिय साझेदारका रूपमा समेट्ने चीनको विकसित दृष्टिकोण देखाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button