ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका १० आरोहीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

ड्रागन मिडिया सम्वाददाता
पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका १० जना पर्वतारोहीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।
मंगलबार साँझ माइतीघर मण्डलामा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवङ्गत पर्वतारोहीप्रति सम्मान व्यक्त गरेका हुन्। उनीहरूले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै पर्वतारोहण क्षेत्रमा मृतकहरूले पुर्याएको योगदानको स्मरण गरे।
पाकिस्तानको गिलगित–बाल्टिस्तान क्षेत्रमा अवस्थित ब्रोड पिक हिमालमा बिहीबार गएको हिमपहिरोले १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोलीलाई बगाएको थियो। दुर्घटनामा परेका सबै पर्वतारोहीको मृत्यु पुष्टि भइसकेको छ।
ज्यान गुमाउनेमा नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्।
त्यसैगरी पाकिस्तानका सोहेल साखी, चीनका वाङ चोङ, ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकाकी म्यालोरी गेइसले पनि दुर्घटनामा ज्यान गुमाएका छन्।
निर्मल पुर्जाको नेतृत्वमा रहेको टोली ब्रोड पिक आरोहणका क्रममा दोस्रो र तेस्रो शिविरबीच पुगेका बेला हिमपहिरोमा परेको थियो। आठ हजार मिटरभन्दा अग्लो ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो।
प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण खोज तथा शव फिर्ता ल्याउने कार्य चुनौतीपूर्ण बनेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार मंगलबारसम्म आठ पर्वतारोहीको शव रहेको स्थान पहिचान गरिएको थियो भने कम्तीमा तीन जनाको शव हिमालबाट तल ल्याइएको थियो।
दीप प्रज्वलनमा सहभागीहरूले पर्वतारोहण केवल व्यक्तिगत साहस र उपलब्धिको क्षेत्र नभई राष्ट्रहरूबीच मित्रता, सहकार्य र मानवीय साहसको प्रतीक भएको उल्लेख गरे। उनीहरूले ब्रोड पिक दुर्घटनालाई विश्व पर्वतारोहण समुदायका लागि अपूरणीय क्षतिका रूपमा स्मरण गरेका छन्।





