१९ भाद्र २०८३, शुक्रबार

औद्योगिक सुरक्षा र प्रहरी–व्यवसायी समन्वयबारे विराटनगरमा विशेष छलफल

ड्रागन मिडिया सम्वाददाता

मोरङका उद्योगी–व्यवसायी र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालबीच औद्योगिक सुरक्षा, व्यावसायिक वातावरण तथा प्रहरी–निजी क्षेत्र समन्वयका विषयमा विराटनगरमा विशेष छलफल भएको छ।

विराटनगरस्थित प्रहरी कार्यालयमा मंगलबार आयोजित बैठकमा औद्योगिक क्षेत्रले सामना गरिरहेका सुरक्षा चुनौती, उद्योगी–व्यवसायी र प्रहरीबीचको आपसी समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने उपायबारे गहन कुराकानी भएको थियो।

छलफलका क्रममा उद्योगी–व्यवसायीका प्रतिनिधिहरूले औद्योगिक प्रतिष्ठान, उद्योगीका निवास तथा व्यावसायिक गतिविधिको सुरक्षा व्यवस्थासम्बन्धी आफ्ना सरोकार, सुझाव र जिज्ञासा प्रदेश प्रहरी प्रमुखसमक्ष प्रस्तुत गरेका थिए।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जेन–जी आन्दोलनपछिको परिस्थितिका कारण औद्योगिक क्षेत्र थप दबाबमा परेको बताउँदै सुरक्षा निकायको व्यवहारप्रति उद्योगी–व्यवसायीमा चिन्ता र सशंका बढेको धारणा राखे।

विराटनगरका उद्योगी प्रकाश मुन्दडा र बेणीगोपाल मुन्दडाको निवासमा सोमबार प्रहरीले छापा मारेको घटनापछि उद्योगी–व्यवसायी थप सशंकित बनेको उनले बताए। उद्योगीहरूले उक्त कारवाहीका क्रममा करिब साढे चार घण्टासम्म सडकसमेत अवरुद्ध भएको उल्लेख गर्दै सुरक्षा निकायका अनुसन्धानात्मक गतिविधि पारदर्शी, संयमित र व्यावसायिक हुनुपर्नेमा जोड दिएका थिए।

प्रदेश प्रहरी प्रमुख खनालले मोबाइलमार्फत प्राप्त सूचनाका आधारमा प्रहरीले कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरेको स्पष्ट पारे। उनले प्रहरी उद्योगी–व्यवसायीको सुरक्षा, औद्योगिक प्रतिष्ठानको संरक्षण तथा सुरक्षित र विश्वासिलो व्यावसायिक वातावरण निर्माणप्रति प्रतिबद्ध रहेको बताए।

खनालले प्रहरी र निजी क्षेत्रबीच नियमित संवाद, सूचना आदानप्रदान र आपसी विश्वास आवश्यक रहेको उल्लेख गर्दै सुरक्षा चुनौती समाधान गर्न उद्योगी–व्यवसायीका सुझावलाई गम्भीरतापूर्वक लिइने विश्वास दिलाए।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवाललगायत प्रमुख औद्योगिक तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

छलफलले औद्योगिक सुरक्षासम्बन्धी सरोकारलाई संस्थागत संवादमार्फत सम्बोधन गर्दै प्रहरी र निजी क्षेत्रबीचको सहकार्य तथा विश्वास थप सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button