वस्तु तथा सेवा खरिद–बिक्रीमा अनिवार्य बीजक लिन–दिन राजस्व विभागको आग्रह

ड्रागन मिडिया सम्वाददाता
आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक लिन र दिन उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै बीजक लिने–दिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएको हो। कर अनुपालन अभिवृद्धि, वास्तविक कारोबारको अभिलेखीकरण र कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यस्तो आग्रह गरिएको विभागले जनाएको छ।
विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको स्मरण गराउँदै उक्त कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बीजक अनिवार्य हुने स्पष्ट पारेको छ। त्यसैले उपभोक्ताले कुनै पनि वस्तु वा सेवा खरिद गर्दा आधिकारिक खरिद बीजक लिनुपर्ने विभागको आग्रह छ।
सूचनामा हालसम्म स्थायी लेखा नम्बर अर्थात प्यान नलिई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई तत्काल प्यान लिई औपचारिक कर प्रणालीमा आबद्ध हुन अनुरोध गरिएको छ।
विभागले सबै व्यवसायीलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बीजक जारी गर्नुपर्ने कानुनी व्यवस्थाको पनि स्मरण गराएको छ। बीजक जारी नगरी कारोबार गर्दा वास्तविक आय–व्यय अभिलेखीकरणमा समस्या उत्पन्न हुनुका साथै कर प्रणालीको पारदर्शितासमेत प्रभावित हुने विभागको भनाइ छ।
बीजक लिने–दिने अभ्यास प्रभावकारी रूपमा कार्यान्वयन हुँदा वास्तविक कारोबार अभिलेखमा आउने, कर छली नियन्त्रणमा सहयोग पुग्ने र करदातामा स्वेच्छिक कर अनुपालनको संस्कृतिको विकास हुने विभागले विश्वास व्यक्त गरेको छ।
विभागले उपभोक्तालाई आफ्नो खरिदको प्रमाण सुरक्षित राख्न तथा व्यवसायीलाई कानुनबमोजिम कारोबारको अभिलेख कायम गर्न जिम्मेवार बन्न आग्रह गरेको छ।





