१९ भाद्र २०८३, शुक्रबार

मधेशको नयाँ सत्ता समीकरणबारे ओली–यादव संवाद, जसपा नेपालको समर्थनमा एमालेको चासो

ड्रागन मिडिया सम्वाददाता

मधेश प्रदेशमा नयाँ सत्ता समीकरण निर्माण गर्ने विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच विशेष छलफल भएको छ।

भेटबारे जानकार श्रोतका अनुसार मंगलबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको छलफल संघीय राजनीतिमा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य समाप्त भएपछि प्रदेशमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा केन्द्रित थियो।

एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रदेश सरकार पुनर्गठनसम्बन्धी सहमति गर्दै कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने समझदारी गरेका छन्। मधेश र गण्डकी प्रदेशको नेतृत्व तथा सहभागिताको स्वरूप भने सम्बन्धित प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँगको परामर्शबाट निर्धारण गर्ने सहमति छ।

यही पृष्ठभूमिमा अध्यक्ष ओलीले मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि जसपा नेपालको साथ र सहयोग खोज्नुभएको बताइएको छ। प्रदेशसभाको विद्यमान शक्ति सन्तुलनका कारण जसपा नेपालको समर्थन नयाँ समीकरण निर्माणमा महत्त्वपूर्ण हुने एमालेको आकलन रहेको श्रोतले जनाएको छ।

हाल मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ। मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा एमाले र नेकपासहित विभिन्न दलको सहभागिता रहे पनि संघीय स्तरमा विकसित नयाँ राजनीतिक समीकरणसँगै यसको निरन्तरताबारे अन्योल उत्पन्न भएको छ।

ओली र यादवबीचको छलफलमा सम्भावित सरकारको नेतृत्व, दलहरूको सहभागिता तथा आगामी राजनीतिक सहकार्यका विषयमा कुराकानी भएको बुझिएको छ। यद्यपि दुवै दलले भेटमा भएको छलफल र सम्भावित सहमतिबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।

मधेश प्रदेशसभामा कुनै एक दलसँग स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि दुईभन्दा बढी दलबीच सहकार्य आवश्यक पर्ने अवस्था छ। यस्तो परिस्थितिमा जसपा नेपालको निर्णयले वर्तमान सरकारको निरन्तरता वा वैकल्पिक सत्ता समीकरण निर्माणमध्ये कुन दिशामा प्रदेश राजनीति अघि बढ्छ भन्ने निर्धारण गर्न सक्ने देखिएको छ।

एमाले–नेकपा सहमतिअनुसार अन्य प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया अघि बढे पनि मधेशमा आवश्यक बहुमत र नेतृत्वको विषय टुङ्गिन बाँकी छ। ओली–यादव भेटलाई यही राजनीतिक अनिश्चितता अन्त्य गर्ने प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button