१९ भाद्र २०८३, शुक्रबार

कर्णालीमा बदलिँदै लागुऔषधको स्वरूप, चिकित्सकीय औषधिको दुरुपयोगले थपियो चुनौती

ड्रागन मिडिया सम्वाददाता

कर्णाली प्रदेशमा परम्परागत रूपमा प्रयोग हुँदै आएका गाँजा र अफिमसँगै खैरो हेरोइन तथा चिकित्सकीय प्रयोजनका औषधिको दुरुपयोग बढ्न थालेपछि लागुऔषध नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ।

डोल्पा, मुगु, रुकुम पश्चिम र सुर्खेतमा पछिल्लो समय भएका पक्राउ तथा बरामदका घटनाले लागुऔषधको प्रयोग र कारोबार हिमाली तथा पहाडी जिल्लासम्म फैलिँदै गएको देखाएका छन्। प्रहरीका अनुसार यसमा विशेषगरी युवा, पढाइ छाडेका व्यक्ति तथा नियमित रोजगारी नभएका समूह बढी प्रभावित देखिएका छन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका २९ वर्षीय टेकेन्द्र खड्का सोमबार खैरो हेरोइनसहित पक्राउ परेका छन्। गाडी चालकको काम गर्दै आएका उनको साथबाट ६२ हजार पाँच सय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीसँगै डोल्पाको ठूलीभेरी नगरपालिका–८ का २५ वर्षीय सन्तोष भण्डारी र रुकुमका २३ वर्षीय नवीन खड्कालाई पनि लागुऔषध बिक्री–वितरणमा संलग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विनय सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा टेकेन्द्र खड्का लागुऔषध प्रयोगकर्ता र आपूर्तिकर्ता दुवै भूमिकामा रहेको देखिएको छ। उनले नेपालगञ्जबाट लागुऔषध ल्याएर डोल्पामा बिक्री गर्ने गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका तीनै जनाको सम्भावित सम्पर्क सञ्जाल, लागुऔषधको श्रोत र उनीहरूसँग जोडिएका अन्य व्यक्ति तथा प्रयोगकर्ताबारे अनुसन्धान जारी राखेको छ।

नेपाल–भारत सीमाक्षेत्र हुँदै लागुऔषध खरिद गरी मुगुसम्म पुर्‍याएको आरोपमा मुगुका ३० वर्षीय अङ्गबहादुर मल्ल पनि प्रहरी हिरासतमा छन्। प्रहरी अनुसन्धानमा उनी सामान्य नशालु पदार्थको प्रयोगबाट क्रमशः खैरो हेरोइनसम्म पुगेको र पछिल्लो समय लागुऔषध खरिद गर्न सीमाक्षेत्रसम्म जाने गरेको देखिएको छ।

गत असारमा पक्राउ परेका मल्ल यसअघि पनि पटक–पटक शंकास्पद अवस्थामा प्रहरी सम्पर्कमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नवीन शाहीका अनुसार विगतमा उनको साथबाट लागुऔषध फेला नपरेकाले उनी छुट्दै आएका थिए।

यसपटक भने उनले आफू लागुऔषध प्रयोगकर्ता रहेको र बिक्री–वितरणमा समेत संलग्न हुँदै आएको बयान दिएको प्रहरीको भनाइ छ। घटनाको अनुसन्धान अझै पूरा नभएकाले उनको संलग्नताको अन्तिम कानुनी निष्कर्ष आउन बाँकी छ।

मुगुमै प्रहरीले गत बिहीबार छायानाथ रारा नगरपालिका क्षेत्रबाट कमल मल्ललाई पक्राउ गर्दा उनको साथबाट खैरो हेरोइन वा अन्य परम्परागत लागुऔषध फेला परेन। प्रहरीले उनको साथबाट हर्मोनसम्बन्धी उपचार र छारेरोग नियन्त्रणका लागि प्रयोग हुने केही औषधि बरामद गरेको थियो।

ती औषधि चिकित्सकको सिफारिसविपरीत नशाका रूपमा प्रयोग गरेको आरोपमा उनी प्रहरी हिरासतमा छन्। प्रहरी निरीक्षक शाहीका अनुसार मल्लले लामो समयदेखि मेडिकल पसलबाट औषधि खरिद गरी प्रयोग गर्दै आएको बयान दिएका छन्।

यी घटनाले कर्णालीमा लागुऔषधको स्वरूप बदलिँदै गएको संकेत गरेका छन्। सीमाक्षेत्रबाट भित्रिने खैरो हेरोइनसँगै उपचारका लागि उत्पादन गरिएका औषधिलाई नशाको विकल्पका रूपमा दुरुपयोग गर्ने क्रम बढेपछि नियन्त्रण तथा निगरानीका विद्यमान उपायमाथि थप दबाब परेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म प्रदेशका १० जिल्लामा लागुऔषधसम्बन्धी ६२१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये सुर्खेतमा मात्रै ४४३ मुद्दा दर्ता भएका छन्।

यस अवधिमा लागुऔषध प्रयोग र कारोबारमा संलग्न भएको आरोपमा एक हजार ६४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक हजार छ जना पुरुष र ५८ जना महिला छन्। प्रदेश प्रहरीको विवरणले पक्राउ परेकामध्ये ठूलो हिस्सा युवा उमेर समूहको रहेको देखाएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ बाट गत शुक्रबार प्रहरीले तीन किलो अफिमसहित २८ वर्षीय टिकाराम बोहोरा र २० वर्षीय गणेश वलीलाई पक्राउ गरेको थियो। पक्राउ गर्ने क्रममा उनीहरूले धारिलो हतियार प्रयोग गरेर प्रतिरोध गर्न खोजेपछि प्रहरीले हवाई फायर गर्नुपरेको जनाएको छ।

प्रहरीका अनुसार दुवै जना औपचारिक पढाइ छाडेर डोल्पामा मजदुरी गर्दै आएका थिए। उक्त घटनाको दुई दिनपछि सुर्खेतको वीरेन्द्रनगरबाट ३० वर्षीय प्रकाश कँडेललाई १० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो।

प्रदेश प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षमा १६ हजार ७९२ वटा नाइट्राजेपाम ट्याब्लेट, ९४२ ग्राम ८८० मिलिग्राम खैरो हेरोइन, छ किलो ८४३ ग्राम २१८ मिलिग्राम चरेस र नौ किलो २७९ ग्राम ५११ मिलिग्राम गाँजा बरामद गरिएको छ।

यसैगरी, ७९ किलो ४२५ ग्राम अफिम, पाँच किलो ३७० ग्राम अफिमको बिउ तथा म्याद गुज्रिएका १७ सिसी विभिन्न झोल औषधि पनि प्रहरीले बरामद गरेको जनाएको छ।

प्रहरी निरीक्षक शाहीका अनुसार आर्थिक अवस्था कमजोर भएका केही युवा महँगो लागुऔषध खरिद गर्न नसकेपछि मेडिकल पसलमा तुलनात्मक रूपमा सहज उपलब्ध हुने चिकित्सकीय औषधितर्फ आकर्षित भइरहेका छन्।

सस्तो, सहज उपलब्ध र बाहिरबाट कम शंकास्पद देखिने भएकाले चिकित्सकीय औषधिको दुरुपयोग बढिरहेको प्रहरीको विश्लेषण छ। हिमाली जिल्लामा गाँजा र अफिम परम्परागत रूपमा उपलब्ध हुने वातावरणबाट शुरु भएको प्रयोग क्रमशः थप हानिकारक पदार्थतर्फ जाने जोखिम पनि देखिएको छ।

कर्णाली प्रदेश अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलले चिकित्सकीय औषधिको जथाभावी र अत्यधिक प्रयोगले मस्तिष्क तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताउनुभएको छ।

उहाँका अनुसार यस्ता औषधिको दुरुपयोग गर्ने व्यक्तिमा भोक घट्ने, शरीर कमजोर हुने, स्मरणशक्ति र निर्णय क्षमता कमजोर बन्ने तथा मानसिक समस्या बढ्ने जोखिम हुन्छ। लागुऔषध प्रयोगकर्तामध्ये धेरैमा कुपोषण, पढाइ छाड्ने प्रवृत्ति र सामाजिक सम्बन्धबाट अलग हुने समस्या देखिने गरेको उहाँको भनाइ छ।

प्रदेश प्रहरीका अनुसार नेपालगञ्ज हुँदै कर्णाली प्रवेश गर्ने सडक सञ्जाल तथा प्रदेशसँग जोडिएका केही अन्तरजिल्ला मार्ग लागुऔषध ओसारपसारका प्रमुख जोखिम क्षेत्रका रूपमा देखिएका छन्। सुर्खेत, जुम्ला, दैलेख, कालीकोट, मुगु, रुकुम पश्चिम र जाजरकोट बढी प्रभावित जिल्लामा परेका छन्।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले किशोर–किशोरी र युवा नै लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न देखिनु गम्भीर चिन्ताको विषय भएको बताउनुभएको छ।

लागुऔषधको लतका कारण धेरै युवाले पढाइ छाडेको उल्लेख गर्दै उहाँले बिक्री–वितरण नियन्त्रण, नियमित अनुगमन, युवालक्षित सचेतना र परीक्षण उपकरणको प्रयोग विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।

प्रहरीको विश्लेषणमा पक्राउ परेकामध्ये धेरै व्यक्ति बेरोजगार, औपचारिक शिक्षा बीचमै छाडेका वा कमजोर पारिवारिक तथा सामाजिक पृष्ठभूमिबाट आएका छन्। यसले लागुऔषध नियन्त्रणलाई केवल प्रहरी कारवाहीमा सीमित नगरी शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक पुनःस्थापनासँग जोड्नुपर्ने आवश्यकता देखाएको छ।

युवा अभियन्ता दीपेशसिंह ठकुरीले उपचारका लागि उत्पादन गरिएका औषधि नै नशाको माध्यम बन्न थालेपछि कर्णालीको अवस्था झन जटिल बनेको बताउनुभएको छ।

उहाँका अनुसार मेडिकल पसलबाट हुने औषधि बिक्रीको प्रभावकारी अनुगमन, सीमाक्षेत्रमा निगरानी, युवामाझ नियमित सचेतना तथा मानसिक स्वास्थ्य र पुनःस्थापना सेवाको पहुँच विस्तार गर्न आवश्यक छ। समयमै नियन्त्रण नभए चिकित्सकीय औषधिको दुरुपयोग गम्भीर सामाजिक संकटमा रूपान्तरण हुन सक्ने उहाँको चेतावनी छ।

प्रहरीले समुदाय र विद्यालयलक्षित सचेतना, गाँजा तथा अफिम खेती नष्ट गर्ने अभियान र लागुऔषध कारोबारविरुद्ध कारवाही सञ्चालन गर्दै आएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार चार वर्षमा विद्यालय, समुदाय र अभिभावकलक्षित तीन हजार ८५१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्।

गत आर्थिक वर्षमा प्रदेशका सबै ७९ स्थानीय तहमा लागुऔषधविरुद्ध लालटिन अभियान र सुरक्षित कर्णाली अभियान सञ्चालन गरिएको थियो। यद्यपि कारोबारको बदलिँदो स्वरूप, चिकित्सकीय औषधिको दुरुपयोग र युवामा बढ्दो प्रयोगका कारण नियन्त्रण प्रयास अझ व्यापक, समन्वित र दीर्घकालीन बनाउनुपर्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button