१९ भाद्र २०८३, शुक्रबार

निगमले अभाव नरहेको दाबी गर्दा सिरहामा एलपी ग्यासका लागि घण्टौँ लाइन

ड्रागन मिडिया सम्वाददाता

सिरहाको गोलबजार, लहानलगायत विभिन्न क्षेत्रमा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ता बिहानैदेखि खाली सिलिन्डर बोकेर डिलरकहाँ पुग्न र घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।

गोलबजार नगरपालिका–४, लहान नगरपालिका–३ स्थित रघुनाथपुर चोक तथा सडक डिभिजन कार्यालय अगाडिका ग्यास डिलरमा बिहानैदेखि उपभोक्ताको लामो लाइन देखिएको छ। कतिपय उपभोक्ताले घण्टौँ प्रतीक्षा गरे पनि ग्यास नपाएको गुनासो गरेका छन्।

नियमित आपूर्ति नहुँदा दैनिक खाना पकाउनेदेखि होटल, चिया पसल तथा साना व्यवसाय सञ्चालनमा समेत समस्या उत्पन्न भएको छ। खाली सिलिन्डर लिएर पटकपटक डिलरकहाँ पुग्नुपर्ने अवस्था बनेपछि उपभोक्तामाथि समय र यातायात खर्चको अतिरिक्त भार परेको छ।

सिरहासँगै काठमाडौँ, पोखरालगायत प्रमुख शहरमा पनि ग्यास सहज रूपमा नपाइएको उपभोक्ताको गुनासो बढेको छ। केही स्थानमा सीमित परिमाणमा सिलिन्डर आइपुग्दा एकैपटक ठूलो भीड लाग्ने गरेको छ।

नेपाल आयल निगमले भने बजारमा एलपी ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। निगमले मंगलबार विज्ञप्ति जारी गर्दै ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ।

निगमका अनुसार ३१ असारदेखि १४.२ किलो क्षमताका पूर्ण सिलिन्डर बिक्री वितरण शुरु भएपछि बजारमा माग एकाएक बढेको हो। मागको तुलनामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गरी भण्डारण गर्दा केही क्षेत्रमा असहज अवस्था देखिएको निगमको भनाइ छ।

निगमले आकस्मिक रूपमा बढेको मागलाई ध्यानमा राखेर साउन महिनाको आयात परिमाणसमेत बढाइएको जनाएको छ। उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरिएको छ।

बजारमा पर्याप्त ग्यास रहेको निगमको दाबी र डिलरमा देखिएको लामो लाइनबीच भने स्पष्ट विरोधाभाष देखिएको छ। स्थानीय उपभोक्ताले कागजी आपूर्ति विवरणभन्दा पनि डिलरबाट नियमित र सहज रूपमा ग्यास उपलब्ध हुने प्रभावकारी व्यवस्था मिलाउन निगम, ग्यास उद्योग तथा स्थानीय प्रशासनसँग माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button