बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

ड्रागन मिडिया सम्वाददाता
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता व्यवस्थापन गर्न ८५ अर्ब रुपैयाँ बराबरको तीन महिने निक्षेप सङ्कलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणका लागि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत बोलकबोल गरिनेछ। बोलकबोलबाट स्वीकृत निक्षेप सङ्कलन उपकरण बुधबार नै निष्कासन गरिनेछ।
उक्त उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। यसको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ प्रस्ताव गर्नुपर्नेछ। त्यसपछि पाँच करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदर प्रस्ताव गर्दै एकभन्दा बढी आवेदनसमेत पेश गर्न सक्नेछ।
निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अतिरिक्त रकम निश्चित अवधिका लागि आफूतर्फ खिच्ने गर्छ। यसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घटाउन, अल्पकालीन ब्याजदरलाई मौद्रिक नीतिको लक्ष्यअनुकूल राख्न तथा बजारको तरलता व्यवस्थापन प्रभावकारी बनाउन सहयोग पुग्छ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा बढेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप सङ्कलन तथा स्थायी निक्षेप सुविधालगायत मौद्रिक उपकरण नियमित रूपमा प्रयोग गर्दै आएको छ।





