चीनको गाडी भाडा उद्योग हरित र स्मार्ट सवारीतर्फ, नयाँ ऊर्जा सवारीको हिस्सा ६४.५ प्रतिशत पुग्ने अनुमान

ड्रागन मिडिया समाचार कक्ष
चीनमा नयाँ ऊर्जा सवारीसाधनको प्रयोग तीव्र रूपमा बढेसँगै गाडी भाडा सेवा प्रदायक कम्पनीहरूले आफ्नो सवारी संरचनालाई हरित, स्मार्ट र प्रविधिमैत्री बनाउने प्रक्रिया तीव्र पारेका छन्।
चाइना अटोमोबाइल डिलर्स एसोसिएसनअन्तर्गतको अटोमोटिभ मार्केट रिसर्च शाखाका अनुसार जुलाईमा चीनको घरेलु यात्रुवाहक सवारीको खुद्रा बिक्री करिब १५ लाख २० हजार एकाइ पुग्ने अनुमान गरिएको थियो। तीमध्ये नयाँ ऊर्जा सवारीसाधनको बिक्री नौ लाख ८० हजार एकाइ रहने र बजार प्रवेशदर कीर्तिमानी ६४.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।
नयाँ ऊर्जा सवारीको बढ्दो प्रयोग, सञ्चालन खर्चमा हुने बचत, उपभोक्ताको बदलिँदो रोजाइ र कार्बन उत्सर्जन घटाउने राष्ट्रिय नीतिले चीनको गाडी भाडा उद्योगमा नयाँ प्रतिस्पर्धात्मक वातावरण निर्माण गरिरहेको छ।
चीनका प्रमुख गाडी भाडा सेवा प्रदायकहरूले आफ्नो सवारी समूह पुनर्संरचना गर्दै नयाँ ऊर्जा तथा स्मार्ट सवारीको संख्या निरन्तर बढाइरहेका छन्।
जुलाईमा चिनियाँ विद्युतीय सवारी उत्पादक एक्सपेङ मोटर्सले गाडी भाडा सेवा प्रदायक सीएआर इङ्कलाई एक हजार तीन सय नयाँ ऊर्जा सवारी उपलब्ध गराएको थियो। यससँगै नयाँ ऊर्जा सवारीलाई ठूलो परिमाणमा दैनिक भाडा सेवामा प्रयोग गर्ने प्रक्रिया थप विस्तार भएको छ।
सीएआर इङ्कका एक वरिष्ठ अधिकारीका अनुसार कम्पनीले सन् २०२५ मा करिब एक लाख नयाँ सवारी खरिद गरेको थियो। तीमध्ये झन्डै आधा नयाँ ऊर्जा सवारी थिए।
ईहाई कार सर्भिसेस र ट्रिप डटकम कार रेन्टलजस्ता अन्य प्रमुख कम्पनीहरूले पनि नयाँ ऊर्जा सवारीका विभिन्न मोडेललाई आफ्नो सेवामा समावेश गरिरहेका छन्। केही कम्पनीले बजारमा लोकप्रिय बनेका नयाँ विद्युतीय तथा स्मार्ट सवारीलाई दैनिक भाडा सेवामा उपलब्ध गराउन थालेका छन्।
यस वर्षको शुरुदेखि ईहाई कार सर्भिसेसले चिनियाँ सवारी निर्माता गिली अटो ग्रुपबाट एक हजार स्मार्ट स्पोर्ट्स युटिलिटी भेहिकल र ग्वाङ्चौ अटोमोबाइल ग्रुपबाट दुई हजार स्मार्ट सवारी प्राप्त गरेको छ।
गाडी भाडा सेवा प्रदायकहरूले सवारीको संरचना मात्र परिवर्तन गरेका छैनन्, नयाँ ऊर्जा सवारीको विस्तारसँग मेल खाने गरी भाडा सेवा प्रणालीलाई पनि थप बुद्धिमत्तापूर्ण बनाइरहेका छन्।
सीएआर इङ्कले जुलाईमा आफ्नो मोबाइल एपमा स्मार्ट ड्राइभिङसम्बन्धी छुट्टै सेवा क्षेत्र सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा नयाँ ऊर्जा सवारी छनोट, स्मार्ट विशेषताको परिचय, मोडेल सिफारिस र कृत्रिम बुद्धिमत्तामा आधारित सवारीसम्बन्धी प्रश्नोत्तर सेवा एकै स्थानमा उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार उक्त डिजिटल सेवाले ४० भन्दा बढी प्रमुख नयाँ ऊर्जा सवारी ब्रान्डलाई समेटेको छ। प्रयोगकर्ताले सवारीको मोडेल छनोटदेखि त्यसको प्रयोग विधिसम्मका जानकारी एउटै डिजिटल माध्यमबाट प्राप्त गर्न सक्छन्।
उद्योग क्षेत्रका जानकारहरूका अनुसार गाडी भाडा कम्पनीहरूले नयाँ ऊर्जा र स्मार्ट सवारीको प्रयोग बढाउनुमा सञ्चालन खर्च घटाउने आवश्यकता र उपभोक्ताको मागमा आएको परिवर्तन दुवै प्रमुख कारण हुन्।
बेइजिङ च्याओथोङ विश्वविद्यालयका प्राध्यापक औ गुओलीले पेट्रोलियम इन्धनबाट चल्ने सवारीको तुलनामा नयाँ ऊर्जा सवारीको सञ्चालन खर्च कम हुने बताउनुभएको छ।
उहाँका अनुसार उपभोक्ताले स्मार्ट सहायक ड्राइभिङ प्रविधिलाई स्वीकार गर्ने क्रम बढेसँगै गाडी भाडा सेवा नयाँ ऊर्जा तथा स्मार्ट सवारीको अनुभव प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम बन्न थालेको छ।
कतिपय उपभोक्ताले बिदा वा यात्राका क्रममा नयाँ ऊर्जा सवारी भाडामा लिएर स्मार्ट ड्राइभिङ प्रणाली, ऊर्जा खपत र वास्तविक यात्रा खर्चको अनुभव गर्ने गरेका छन्। यस्तो अनुभवले उनीहरूलाई भविष्यमा आफ्नै सवारी खरिद गर्दा निर्णय गर्न सहयोग पुर्याइरहेको छ।
विगतमा स्मार्ट ड्राइभिङ प्रविधि पूर्ण रूपमा परिपक्व नभएका कारण उपभोक्ताले सवारीको आकार, उपयोगिता र आरामलाई प्राथमिकता दिने गरेका थिए। नयाँ मोडेलहरू थप विविध र प्रविधिगत रूपमा पृथक बन्दै गएपछि स्मार्ट ड्राइभिङ सवारी छनोटको महत्त्वपूर्ण आधार बन्न थालेको छ।
सीएआर इङ्कका प्रमुख कार्यकारी अधिकृत गाओ देवुले विशेषगरी युवा ग्राहकले सवारी खरिद वा प्रयोगसम्बन्धी निर्णय गर्दा स्मार्ट ड्राइभिङ क्षमतालाई प्राथमिकतामा राख्न थालेको बताउनुभएको छ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सीसीआईडी कन्सल्टिङका अटोमोबाइल उद्योग विभागका महाप्रबन्धक चाङ येचियाका अनुसार गाडी भाडा कम्पनीहरूले नयाँ ऊर्जा सवारीको प्रयोग बढाउनुमा राष्ट्रिय नीति र सवारी सम्पत्ति व्यवस्थापन दुवैको प्रभाव छ।
चीनले सन २०३० अघि कार्बनडाइअक्साइड उत्सर्जन उच्चतम बिन्दुमा पुर्याउने र सन २०६० अघि कार्बन तटस्थता हासिल गर्ने दोहोरो कार्बन लक्ष्य निर्धारण गरेको छ।
चाङका अनुसार यी लक्ष्य कार्यान्वयन गर्ने क्रममा केही शहरले व्यावसायिक रूपमा सञ्चालन हुने सवारी समूहमा नयाँ ऊर्जा सवारीको न्यूनतम अनुपातसम्बन्धी व्यवस्था लागू गरेका छन्।
त्यसैले नयाँ ऊर्जा सवारी खरिद गर्नु गाडी भाडा कम्पनीका लागि केवल प्रतिस्पर्धात्मक लाभको विषय मात्र नभई कतिपय स्थानमा नियमअनुकूल सञ्चालनको आधारभूत आवश्यकता पनि बन्न थालेको उहाँले बताउनुभएको छ।
नयाँ ऊर्जा सवारी समूहको विस्तारले भविष्यमा गाडी भाडा कम्पनीहरूको व्यावसायिक ढाँचा र सेवा प्रणाली दुवै परिवर्तन गर्ने अपेक्षा गरिएको छ।
कम्पनीहरूले विभिन्न यात्रा आवश्यकताअनुसार पृथक स्मार्ट सवारी समूह तयार गर्नुका साथै आधुनिक प्रविधिको प्रयोगबाट सवारीको उपयोग दर बढाउने उपाय खोजिरहेका छन्।
भाडा कम्पनीहरूले चार्जिङ, पार्किङ र सांस्कृतिक पर्यटनसँग सम्बन्धित सेवा विस्तार गरेर उपभोक्तालाई यात्राको शुरुवातदेखि अन्त्यसम्म एकीकृत सुविधा प्रदान गर्न सक्ने चाङले बताउनुभएको छ।
प्राध्यापक औका अनुसार विश्वव्यापी अटोमोबाइल उद्योग नयाँ ऊर्जा र स्मार्ट प्रविधितर्फ तीव्र गतिमा रूपान्तरण भइरहेको छ। गाडी भाडा सेवा प्रदायकहरूले पनि यही प्रवृत्तिअनुसार ठूलो परिमाणमा नयाँ सवारी खरिद गर्दै व्यावसायिक अवसर उपयोग गरिरहेका छन्।
भविष्यमा चीनको गाडी भाडा उद्योगमा मूल्य घटाउने प्रतिस्पर्धाभन्दा गुणस्तर, प्रविधि र सेवाबाट मूल्य सिर्जना गर्ने प्रतिस्पर्धा महत्त्वपूर्ण बन्ने उहाँको आकलन छ।
स्मार्ट सेवा क्षमता तथा ऊर्जा आपूर्ति, चार्जिङ, पार्किङ र पर्यटनलाई जोड्ने नयाँ व्यावसायिक प्रणाली निर्माण गर्ने क्षमताले गाडी भाडा उद्योगको दीर्घकालीन प्रतिस्पर्धा निर्धारण गर्ने देखिएको छ।





