स्वचालित ड्राइभिङ प्रणालीको सुरक्षाका लागि चीनद्वारा अनिवार्य राष्ट्रिय मापदण्ड जारी

ड्रागन मिडिया समाचार कक्ष
चीनले स्वचालित ड्राइभिङ प्रणालीको सुरक्षा सुनिश्चित गर्न अनिवार्य राष्ट्रिय मापदण्ड जारी गरेको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नयाँ मापदण्ड सन् २०२७ जुलाई १ देखि कार्यान्वयनमा आउनेछ।
राज्य बजार नियमन प्रशासन र राष्ट्रिय मानकीकरण प्रशासनले स्वीकृत गरेको उक्त मापदण्ड स्तर–३ र स्तर–४ स्वचालित ड्राइभिङ प्रणाली जडान गरिएका एम तथा एन श्रेणीका सवारीसाधनमा लागू हुनेछ। स्वचालित पार्किङ प्रणाली भने यसको कार्यक्षेत्रमा समावेश गरिएको छैन।
नयाँ व्यवस्थाले सवारी उत्पादक कम्पनीलाई उत्पादनको सम्पूर्ण जीवनचक्रमा सुरक्षा प्रत्याभूति प्रणाली सुदृढ बनाउन अनिवार्य गरेको छ। स्वचालित ड्राइभिङ प्रणालीको विकास र प्रमाणीकरणका क्रममा कम्प्युटरमा आधारित कृत्रिम परीक्षण, नियन्त्रित परीक्षणस्थल र वास्तविक सडकमा परीक्षण गर्नुपर्नेछ।
मापदण्डले स्वचालित प्रणालीको गतिशील ड्राइभिङ कार्य सम्पादन क्षमता थप प्रभावकारी बनाउनुपर्ने व्यवस्था गरेको छ। सवारीको गति नियन्त्रण, सडकको अवस्था पहिचान, दिशानिर्देशन तथा आकस्मिक परिस्थितिमा उचित प्रतिक्रिया दिन सक्ने क्षमतालाई सुरक्षा मूल्यांकनको महत्त्वपूर्ण आधार बनाइएको छ।
मानिस र सवारी प्रणालीबीच हुने अन्तरक्रिया तथा प्रयोगकर्तालाई उपलब्ध गराइने सूचनाका लागि पनि स्पष्ट प्रावधान निर्धारण गरिएको छ। स्वचालित ड्राइभिङ प्रविधिको गलत वा दुरुपयोग रोक्न उत्पादकले प्रणालीको क्षमता, प्रयोगको सीमा र चालकको जिम्मेवारीबारे स्पष्ट जानकारी दिनुपर्नेछ।
स्तर–३ प्रणाली जडान भएका सवारीले आवश्यकता पर्दा चालकले पुनः नियन्त्रण लिन तयार रहेको वा नरहेको अवस्था अनुगमन गर्न सक्नुपर्नेछ। प्रणालीले चालकलाई नियन्त्रण हस्तान्तरण गर्नुपर्ने परिस्थितिमा समयमै सूचना र चेतावनी प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्तर–३ स्वचालित ड्राइभिङमा निश्चित परिस्थितिमा प्रणालीले सवारी सञ्चालनको प्रमुख जिम्मेवारी लिने भए पनि आवश्यक अवस्थामा चालकले नियन्त्रण सम्हाल्नुपर्ने हुन्छ। स्तर–४ प्रणालीले तोकिएको सञ्चालन क्षेत्र र परिस्थितिभित्र चालकको प्रत्यक्ष हस्तक्षेपबिना उच्चस्तरको स्वचालित ड्राइभिङ गर्न सक्छ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालयले नयाँ मापदण्डले स्वचालित सवारीको विकास, परीक्षण, उत्पादन र प्रयोगका लागि समान सुरक्षा आधार तयार गर्ने जनाएको छ। यसबाट प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै उपभोक्ता र सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले आगामी चरणमा स्मार्ट तथा नेटवर्कमा जोडिएका सवारीसाधनको बजार प्रवेश व्यवस्थापन सुदृढ गर्ने, स्वचालित ड्राइभिङ प्रणालीका परीक्षण विधि सुधार गर्ने र प्रभावकारी नियमन संयन्त्र निर्माण गर्ने जनाएको छ।
चीनले स्वचालित सवारी प्रविधिको तीव्र विकाससँगै उत्पादनको सुरक्षा, परीक्षणको विश्वसनीयता र उत्पादकको उत्तरदायित्वलाई संस्थागत गर्दै स्मार्ट सवारी उद्योगको उच्च गुणस्तरीय तथा सुरक्षित विकासलाई अघि बढाउने नीति लिएको छ।





