१९ भाद्र २०८३, शुक्रबार

दुई वर्षको कर असुलेर एक वर्ष मात्रै नवीकरण

बालाजु यातायात कार्यालयको कार्यशैलीमाथि गम्भीर प्रश्न

ड्रागन मिडिया सम्वाददाता

यातायात व्यवस्था कार्यालय बालाजु, काठमाडौँले नियमित रूपमा सवारी कर बुझाउँदै आएका एक सेवाग्राहीसँग दुई आर्थिक वर्ष बराबरको सवारी कर र जरिवाना असुलेर ब्लुबुकमा भने एक वर्षको मात्रै नवीकरण कायम गरेको तथ्य सार्वजनिक भएको छ।

कार्यालयले २०८३ साउन २० गते जारी गरेको नगदी रसिद अनुसार सेवाग्राहीबाट कुल ५९ हजार ८०० रुपैयाँ असुल गरिएको छ। रसिदमा निजी सवारी कर शीर्षक अन्तर्गत २५ हजार रुपैयाँ बक्यौता, २५ हजार रुपैयाँ चालु अवधिको कर र ८ हजार रुपैयाँ जरिवाना गरी ५८ हजार रुपैयाँ लिइएको स्पष्ट देखिन्छ।

यसका अतिरिक्त नवीकरण शुल्क बापत ५०० रुपैयाँ तथा प्रदूषण सम्बन्धी शुल्क र जरिवानासहित एक हजार ३०० रुपैयाँ असुल गरिएको छ। यी सबै रकम जोड्दा रसिदमा उल्लेख गरिएको कुल ५९ हजार ८०० रुपैयाँ पुग्छ।

तर दुई वर्षको कर बराबर रकम असुल गरिएको भए पनि सम्बन्धित सवारीको दर्ता प्रमाणपत्र अर्थात ब्लुबुकमा एक वर्षको मात्रै नवीकरण गरिएको छ। सेवाग्राहीले विगतमा प्रत्येक वर्ष नियमित रूपमा कर बुझाउँदै आएको र यसपटक करिब एक महिना ढिलो हुँदा तोकिएको जरिवाना तिरेर नवीकरण गर्न गएको बताएका छन्।

एक महिनाको ढिलाइका कारण जरिवाना लाग्नु कानुनी प्रक्रिया अन्तर्गत पर्न सक्छ। तर दुई वर्षको कर असुल गरेर एक वर्षको मात्रै नवीकरण कायम गर्नु सामान्य प्रशासनिक त्रुटि मान्न सकिने विषय होइन। यसले कार्यालयको कर गणना, विद्युतीय अभिलेख, राजस्व असुली र ब्लुबुक अद्यावधिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

रसिदमा २५ हजार रुपैयाँलाई बक्यौता रकम भनिएको भए पनि उक्त रकम कुन आर्थिक वर्षको हो, यसअघि तिरेको कर अभिलेखमा किन नदेखिएको हो र दोहोरो रकम असुल गर्नुको कानुनी आधार के हो भन्ने स्पष्ट विवरण सेवाग्राहीलाई उपलब्ध गराइएको छैन।

सरकारी निकायले नागरिकबाट असुल गरेको प्रत्येक रुपैयाँको स्पष्ट आधार दिनुपर्छ। दुई वर्षको कर लिएको हो भने सोही अनुसार दुई वर्षको नवीकरण कायम हुनुपर्छ। एक वर्षको मात्रै नवीकरण हुने हो भने बढी असुल गरिएको रकम तत्काल फिर्ता गरिनुपर्छ।

सम्बन्धित कार्यालयले रसिद, राजस्व व्यवस्थापन प्रणाली, पुरानो कर अभिलेख र ब्लुबुकका प्रविष्टि तत्काल भिडाएर वास्तविकता सार्वजनिक गर्न आवश्यक छ। कर्मचारीको लापरवाही, प्रणालीगत त्रुटि वा गलत कर गणनामध्ये के कारणले यस्तो अवस्था उत्पन्न भयो भन्ने विषयमा पनि छानबिन हुनुपर्छ।

बालाजु यातायात कार्यालय र बागमती प्रदेशको यातायात क्षेत्र हेर्ने मन्त्रालयले सेवाग्राहीलाई लिखित स्पष्टीकरण दिनुका साथै बढी रकम असुल भएको पुष्टि भए तत्काल फिर्ता वा नवीकरण अवधि सच्याउनुपर्छ। नागरिकबाट दोहोरो कर असुल्ने तर सेवा एक वर्षको मात्रै दिने अभ्यासलाई कुनै पनि बहानामा स्वीकार गर्न सकिँदैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button