प्रतिनिधिसभाको आगामी क्यालेन्डरबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल

ड्रागन मिडिया सम्वाददाता
सभामुख डीपी अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी कार्यतालिका तथा संसदीय कामकारवाहीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ।
सभामुखको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभाको आगामी संसद क्यालेन्डर निर्माण, कार्यसूची व्यवस्थापन र सदन सञ्चालनलाई व्यवस्थित तथा परिणाममुखी बनाउने उपायबारे विस्तृत छलफल भएको हो।
सहभागी सदस्यहरूले संसदीय गतिविधिलाई नियमित बनाउँदै विधायिकी कामलाई प्राथमिकताका आधारमा अघि बढाउन स्पष्ट र व्यावहारिक कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए।
बैठकमा सांसदहरूले पालना गर्नुपर्ने आचरण, सदनमा उपस्थित हुँदा अपनाउनुपर्ने पोषाकसम्बन्धी व्यवस्था, बैठकको कार्यसूची समयमै निर्धारण गर्ने प्रणाली तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे पनि छलफल भएको थियो।
सांसदहरूले सदनभित्रको छलफललाई विषयकेन्द्रित, मर्यादित र परिणाममुखी बनाउँदै जनसरोकारका विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए।
संसदको गरिमा र प्रभावकारिता अभिवृद्धि गर्न राजनीतिक दलहरूबीच निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बैठकको निष्कर्ष थियो।
सहभागीहरूले जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सरकार, विपक्षी दल, सभामुख, संसदीय समिति र सांसदहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
प्रतिनिधिसभाको बैठक नियमित, व्यवस्थित, मर्यादित र जनउत्तरदायी बनाउन आगामी संसद क्यालेन्डरलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने विषयमा समेत बैठकमा साझा धारणा व्यक्त भएको सभामुखको सचिवालयले जनाएको छ।





