पुस मसान्तसम्म बक्यौता तिरे नेपाल टेलिकमले जरिवाना छुट दिने

ड्रागन मिडिया सम्वाददाता
नेपाल टेलिकमले आफ्ना विभिन्न सेवा प्रयोग गरेबापत महसुल तिर्न बाँकी ग्राहकलाई बक्यौतामा लाग्ने जरिवाना छुट दिने व्यवस्था गरेको छ।
कम्पनीको केन्द्रीय राजस्व विभागले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकले त्यसमा लागेको जरिवाना तिर्नुपर्ने छैन।
टेलिकमले छुट सुविधाको उपयोग गर्न सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी निर्धारित समयभित्र बक्यौता भुक्तानी गर्न आग्रह गरेको छ।
तोकिएको अवधिभित्र पनि बक्यौता नबुझाउने ग्राहकको नाम, ठेगाना तथा तिर्न बाँकी रकमसहितको विवरण कम्पनीको वेबसाइट र पत्रपत्रिकामार्फत सार्वजनिक गरिने सूचनामा उल्लेख छ।
त्यसपछि प्रचलित कानुन र कम्पनीको नियमानुसार बक्यौता असुली प्रक्रिया अघि बढाइने नेपाल टेलिकमले जनाएको छ।
कम्पनीका विभिन्न दूरसञ्चार सेवा प्रयोग गरे पनि लामो समयदेखि महसुल नतिरेका ग्राहकलाई बक्यौता चुक्ता गर्न प्रोत्साहित गर्ने उद्देश्यले जरिवाना छुटको व्यवस्था गरिएको हो।
यसबाट ग्राहकलाई अतिरिक्त आर्थिक भारबाट राहत पुग्नुका साथै कम्पनीको लामो समयदेखि उठ्न बाँकी रकम असुल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





