१९ भाद्र २०८३, शुक्रबार

प्रा.डा. खड्ग केसी यूजीसी अध्यक्ष नियुक्त, प्रा.डा. रोजीन श्रेष्ठ सचिव

– ड्रागन मिडिया सम्वाददाता

सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी)को अध्यक्ष र सचिवमा नयाँ नियुक्ति गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई आयोगको अध्यक्ष र प्रा.डा. रोजीन श्रेष्ठलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सो जानकारी दिँदै दुवै नियुक्ति तत्काल प्रभावकारी हुने बताए। प्रा.डा. केसीले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षका रूपमा काम गरिसकेका छन्। गत वर्ष तत्कालीन उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

आयोगको नेतृत्वमा आएपछि केसीले उच्च शिक्षाको नीति कार्यान्वयन, विश्वविद्यालयहरूबीच समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुदान वितरणलाई प्रभावकारी बनाउने चुनौती पाउनेछन्। यसैगरी नवनियुक्त सचिव श्रेष्ठले आयोगको प्रशासनिक तथा अनुदान व्यवस्थापनको जिम्मा पाएका छन्।

यद्यपि, केसीको नियुक्तिलाई लिएर जनस्तरमा आरोप पनि उठिरहेको छ। उनलाई नेकपा एमाले अध्यक्ष केपी ओलीको आड लागेर ‘प्रोचिनियाँ’ कभरमा पश्चिमा प्रभावलाई हुर्काउने कार्य गर्दै आएको र त्यसकै पुरस्कारस्वरूप यो नियुक्ति दिइएको आरोप जनस्तर तथा शैक्षिक वृत्तमा चर्चित छ। तर, सरकारले भने यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

विश्वविद्यालय अनुदान आयोग नेपालका विश्वविद्यालय तथा उच्च शिक्षा संस्थालाई अनुदान उपलब्ध गराउने, गुणस्तर अभिवृद्धि गर्ने, अनुसन्धान प्रवर्द्धन गर्ने र उच्च शिक्षासम्बन्धी नीति तर्जुमामा सरकारलाई सुझाव दिने प्रमुख निकाय हो। नयाँ नेतृत्वले पारदर्शी, परिणाममुखी अनुदान वितरण र संस्थागत सुशासनलाई प्राथमिकता दिनुपर्ने माग विज्ञहरूले गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button