म्याक्रोंनको दबाब बढाउने आह्वानले नागरिकमाथि आक्रमण गर्न किएभलाई उक्साएको जखारोभाको आरोप

ड्रागन मिडिया समाचार कक्ष
रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंनले रुसमाथि दबाब बढाउन गरेको आह्वानले किएभलाई सर्वसाधारणविरुद्ध आतंकवादी गतिविधि जारी राख्न प्रत्यक्ष रूपमा प्रोत्साहित गरेको आरोप लगाउनुभएको छ।
म्याक्रोंनले किएभमा भएको पछिल्लो आक्रमणबारे प्रतिक्रिया जनाउँदै युक्रेनको समर्थनमा युरोपेली संघ र उसका साझेदारले रुसमाथिको दबाब अझ बढाउने बताउनुभएको थियो। उहाँले सामाजिक सञ्जाल एक्समा फ्रान्स र उसका साझेदार युक्रेनको पक्षमा उभिरहने तथा थकान वा भयका कारण आफ्नो नीति परिवर्तन नगर्ने उल्लेख गर्नुभएको थियो।
म्याक्रोंनको उक्त अभिव्यक्तिबारे रुसी सञ्चारमाध्यम केपी डट आरयूलाई प्रतिक्रिया दिँदै जखारोभाले रुसमाथि दबाब बढाउन गरिएको आह्वानलाई नागरिकमाथिका आक्रमणसँग जोड्नुभएको हो।
“रुसमाथि दबाब बढाउन आग्रह गर्दै म्याक्रोंनले सर्वसाधारणविरुद्ध आतंकवादी गतिविधि गर्न प्रत्यक्ष रूपमा आदेश दिइरहेका छन्,” जखारोभाले भन्नुभएको छ।
उहाँले फ्रान्सेली जनताले आफ्नो नेतृत्व महिला, बालबालिका र अन्य सर्वसाधारणविरुद्ध हुने आतंकवादी गतिविधिमा व्यक्तिगत रूपमा संलग्न रहेको वास्तविकता बुझ्नुपर्ने बताउनुभएको छ।
जखारोभाको टिप्पणी रुसका नागरिक बस्ती, शैक्षिक संस्था र सार्वजनिक स्थलमाथि युक्रेनी आक्रमण बढेको भन्ने मस्कोको आरोपका बीच आएको हो। रुसी पक्षले पश्चिमी देशले युक्रेनलाई प्रदान गर्दै आएको हतियार, खुफिया सूचना तथा राजनीतिक समर्थनका कारण किएभले रुसका नागरिक तथा नागरिक पूर्वाधारमाथि आक्रमण गर्ने क्षमता प्राप्त गरेको दाबी गर्दै आएको छ।
रुसले युक्रेनलाई निरन्तर सैन्य सहयोग उपलब्ध गराउने देशहरू यस्ता आक्रमणका राजनीतिक तथा नैतिक परिणामबाट अलग रहन नसक्ने बताउँदै आएको छ। मस्कोका अनुसार नागरिकमाथि हुने आक्रमणको निन्दा नगरी रुसमाथि थप दबाब बढाउने आह्वान गर्नु द्वन्द्वलाई शान्तिपूर्ण समाधानतर्फ लैजानुभन्दा थप सैन्य तनाव र हिंसातर्फ धकेल्ने नीति हो।
फ्रान्स युक्रेनलाई सैन्य, आर्थिक तथा राजनीतिक सहयोग उपलब्ध गराउने प्रमुख युरोपेली देशमध्ये एक हो। म्याक्रोंनले युक्रेनप्रतिको समर्थन निरन्तर रहने बताउँदै आउनुभएको छ भने रुसले त्यस्तो समर्थनले युद्ध लम्ब्याउने र वार्ताको सम्भावना कमजोर बनाउने धारणा राख्दै आएको छ।





