अमेरिकी प्रतिबन्धको जवाफमा चीनद्वारा ड्रोन निर्यात नियन्त्रणसहित श्रृंखलाबद्ध प्रतिकारात्मक कदम

ड्रागन मिडिया समाचार कक्ष
चीनले अमेरिकी संघीय सञ्चार आयोग र गृह सुरक्षा विभागले हालै लागू गरेका प्रतिबन्धात्मक कदमको जवाफमा राष्ट्रिय सुरक्षा अनुसन्धान, ड्रोनसम्बन्धी दोहोरो प्रयोगका वस्तुमाथि निर्यात नियन्त्रण तथा सात अमेरिकी संस्थाविरुद्ध प्रतिकारात्मक उपाय घोषणा गरेको छ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार अमेरिकी कदमले दुई देशका राष्ट्राध्यक्षबीच भएको महत्त्वपूर्ण सहमतिको गम्भीर उल्लङ्घन गर्नुका साथै चीनका वैधानिक अधिकार र हितमाथि क्षति पुर्याएको बताउनुभएको छ।
प्रवक्ताका अनुसार चीनले विदेशी प्रणाली सफ्टवेयर प्रयोग भएका मुद्रण तथा प्रतिलिपि बनाउने क्षमतायुक्त केही आयातित कार्यालय उपकरणमाथि वैदेशिक व्यापारसम्बन्धी राष्ट्रिय सुरक्षा अनुसन्धान शुरु गरेको छ। चीनले वैदेशिक व्यापार क्षेत्रमा यस्तो प्रकृतिको राष्ट्रिय सुरक्षा अनुसन्धान अघि बढाएको यो पहिलोपटक हो।
प्रारम्भिक सूचनाले विदेशी प्रणाली सफ्टवेयर जडित कार्यालय उपकरणले वैदेशिक व्यापारसम्बन्धी चीनको राष्ट्रिय सुरक्षा हितमा असर पार्न सक्ने देखाएको मन्त्रालयले जनाएको छ। विदेशी प्रणाली सफ्टवेयरअन्तर्गत विदेशी व्यक्ति वा संस्थाले विकास, परीक्षण वा मर्मतसम्भार गर्ने ड्राइभर तथा उपकरणभित्र जडान गरिएका सफ्टवेयर पर्नेछन्।
अनुसन्धानका क्रममा सम्बन्धित वस्तुको आयात अवस्था, आयातित उत्पादन, प्रविधि वा सेवाले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव, घरेलु माग र विदेशी वस्तु वा प्रविधिमाथिको निर्भरता तथा सम्बन्धित चिनियाँ उद्योगको विकास अवस्थाको मूल्याङ्कन गरिनेछ।
यसैगरी घरेलु उद्योगले राष्ट्रिय आवश्यकता र सुरक्षा हित पूरा गर्न सक्ने क्षमता, विदेशी सरकारी नीति तथा कदमको प्रभाव र वैदेशिक व्यापारसम्बन्धी राष्ट्रिय सुरक्षामा असर गर्ने अन्य विषय पनि अनुसन्धानको दायरामा पर्नेछन्।
चीनले अमेरिकातर्फ निर्यात हुने ड्रोन, तिनका प्रमुख उपकरण र दोहोरो प्रयोग नियन्त्रण सूचीमा रहेका सम्बन्धित प्रविधिको प्रत्येक कारोबारलाई कडा रूपमा छुट्टाछुट्टै समीक्षा गर्ने निर्णय पनि गरेको छ। त्यस्ता निर्यातले इजाजतपत्रसम्बन्धी सहुलियत प्राप्त गर्ने छैनन्।
वाणिज्य मन्त्रालयले अमेरिकी कम्पनी कम्प्लायन्स टेस्टिङ एलएलसीलाई प्रतिकारात्मक सूचीमा समावेश गरेको छ। उक्त कम्पनीले चीनको सार्वभौमिकता, सुरक्षा र विकास हितमा क्षति पुर्याउने अमेरिकी संघीय सञ्चार आयोगका कदमलाई सहयोग तथा समर्थन गरेको चीनको आरोप छ।
चीनले सिन्जियाङसम्बन्धी अमेरिकी प्रतिबन्धलाई सहयोग गरेको आरोपमा थप छ अमेरिकी संस्थाविरुद्ध पनि प्रतिकारात्मक कदम लागू गरेको छ। ती संस्थामा एप्लाइड डीएनए साइन्सेज, स्ट्राटम रिजर्भोयर, अल्टाना टेक्नोलोजिज, रेस्पोन्सिबल बिजनेस एलायन्स, भेरिटे ग्रुप र ह्युमन राइट्स इन चाइना छन्।
चीनभित्रका संस्था र व्यक्तिलाई ती सात अमेरिकी संस्थासँग कुनै पनि प्रकारको कारोबार, सहकार्य वा अन्य सम्बन्धित गतिविधि गर्न निषेध गरिएको छ।
चीनको राष्ट्रिय प्रमाणीकरण तथा मान्यता प्रशासनले अमेरिकी प्रमाणीकरण संस्थालाई चीन अनिवार्य प्रमाणीकरण प्रणालीअन्तर्गत प्रमाणित वस्तु उत्पादन गर्ने कारखानाको अनुगमन निरीक्षण गर्न दिइएको अधिकार पनि तत्काल प्रभावबाट निलम्बन गरेको छ।
चीन अनिवार्य प्रमाणीकरण प्रणाली राष्ट्रिय सुरक्षा संरक्षण, बजारमा हुने ठगी नियन्त्रण र वस्तुको गुणस्तर सुनिश्चित गर्ने बजार प्रवेश संयन्त्रको हिस्सा हो। हाल उक्त प्रणालीको सूचीमा १७ श्रेणीअन्तर्गत १०६ प्रकारका उत्पादन समावेश छन्।
वाणिज्य मन्त्रालयका अनुसार बुसानमा दुई देशका राष्ट्राध्यक्षबीच भएको भेटपछि पनि अमेरिकी संघीय सञ्चार आयोगले राष्ट्रिय सुरक्षाको अवधारणालाई अनावश्यक रूपमा विस्तार गर्दै दूरसञ्चार, परीक्षण प्रयोगशाला, ड्रोन, उपभोक्ता राउटर, समुन्द्रमुनिका केबल, उन्नत रोबोटिक उपकरण तथा पावर इन्भर्टरसम्बन्धी प्रतिबन्धात्मक कदम अघि बढाएको छ।
अमेरिकी गृह सुरक्षा विभागले जुलाई ३१ मा ४० भन्दा बढी चिनियाँ संस्थालाई तथाकथित उइगुर जबर्जस्ती श्रम रोकथाम ऐनसम्बन्धी सूचीमा थपेको विषयमा पनि चीनले कडा असन्तुष्टि जनाएको छ।
चिनियाँ प्रवक्ताले प्रतिकारात्मक कदम समग्र रूपमा संयमित रहेको र चीनले द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धमा कठिन प्रयासबाट प्राप्त स्थिरतालाई महत्त्व दिएको बताउनुभएको छ।
चीनले अमेरिकालाई सम्बन्धित प्रतिबन्ध तत्काल फिर्ता लिन, गलत गतिविधि रोक्न तथा मतभेद समाधानका लागि मित्रवत परामर्श र सहकार्यको सही मार्गमा फर्कन आग्रह गरेको छ।
अमेरिकाले चीनविरुद्ध थप प्रतिबन्धात्मक कदम जारी राखे चीनले त्यसको जवाफमा थप प्रतिकारात्मक उपाय अपनाउने वाणिज्य मन्त्रालयले चेतावनी दिएको छ।





