आज विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक अवस्थित छ।
हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागसँगै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ।
कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागसँगै मधेश प्रदेशका धेरै स्थानमा राति मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ।
कर्णाली प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।





