मतदाता नामावली अद्यावधिकमा सहयोग गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

ड्रागन मिडिया सम्वाददाता
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न देशभरका स्थानीय तहलाई आग्रह गरेको छ।
मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावलीसम्बन्धी कार्यमा आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरेको हो।
निर्वाचन आयोगको साउन १५ गते बसेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने तथा त्यसका लागि वडास्तरमै विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।
आयोगले स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइँसराइ र मृत्यु भएका मतदाताको विवरण विद्यमान मतदाता नामावलीसँग भिडाएर अद्यावधिक गर्ने जनाएको छ।
वडास्तरमा सञ्चालन हुने कार्यक्रममा नयाँ विवरण सङ्कलनसँगै विद्यमान अभिलेखमा रहेका त्रुटि सच्याउने र आवश्यक विवरण परिमार्जन गर्ने कामसमेत गरिनेछ।
मतदाता नामावली अद्यावधिक गर्ने कार्य आगामी भदौ १५ गतेसम्म सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको छ।
निर्वाचन आयोगले अभियान सञ्चालनका लागि स्थानीय तहसँग समन्वय र आवश्यक व्यवस्था मिलाइदिन मन्त्रालयलाई आग्रह गरेको थियो।
आयोगको आग्रहबमोजिम मन्त्रालयले सबै स्थानीय तहलाई प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गरी मतदाता नामावली सङ्कलन एवं अद्यावधिक कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न सहजीकरण गर्न निर्देशन दिएको हो।





