भूमि प्रशासनका लिखित फारम सरल बनाउन पाँच सदस्यीय समिति गठन

ड्रागन मिडिया सम्वाददाता
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारमलाई सरल, स्पष्ट र सेवाग्राहीमैत्री बनाउन पाँच सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागको जग्गा प्रशासन शाखाका प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र अरूको सहयोगबिना आफैँ भर्न सक्ने गरी सरलीकरण गर्न जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
समितिले फारम सरलीकरणसम्बन्धी अध्ययन गरी १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्नेछ।
भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले लिखत तथा अन्य कागजात बुझ्न र भर्न बिचौलिया वा अन्य व्यक्तिको सहयोग लिनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयको भनाइ छ।
हाल प्रयोगमा रहेका फारम जटिल र अस्पष्ट हुँदा सेवाग्राहीले अतिरिक्त समय, खर्च र झन्झट व्यहोर्नुपरेको गुनासो आउने गरेको छ।
समितिबाट प्रतिवेदन प्राप्त भएपछि सुझावका आधारमा सरलीकृत फारम तयार गरी देशभरका सम्बन्धित कार्यालयमा कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यस कदमबाट भूमि प्रशासनसम्बन्धी सेवा थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरेको छ।





