एमालेले पार्टी सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने

ड्रागन मिडिया सम्वाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ।
पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार पार्टी मुख्यालय च्यासलमा राजधानी प्रदेश कमिटीले आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा डिजिटल सदस्यता प्रणालीबारे जानकारी गराइएको हो।
जनतासँग पार्टीको सम्बन्ध थप मजबुत बनाउने र सङ्गठनलाई तल्लो तहसम्म गतिशील बनाउने उद्देश्यसहित डिजिटल कार्ययोजना अघि सारिएको एमालेले जनाएको छ।
पार्टी सचिव डा. राजन भट्टराईले पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्क व्यवस्थापनमा डिजिटल प्रणालीको अधिकतम प्रयोग गरिने बताउनुभएको छ।
उहाँका अनुसार पार्टीका सबै तहलाई डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत सङ्गठनात्मक काम, सूचना आदानप्रदान र जनसम्पर्क विस्तार गर्न प्रेरित गरिनेछ।
पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा तथा पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।
पार्टी सचिव भानुभक्त ढकालले सदस्यता विवरण र अन्य महत्त्वपूर्ण दस्तावेजलाई प्राकृतिक विपद तथा अन्य सङ्कटबाट सुरक्षित राख्न डिजिटल प्रणाली आवश्यक रहेको बताउनुभएको छ।
उहाँले डिजिटल सदस्यता प्रणालीबाट पार्टीको अभिलेख व्यवस्थापन सुरक्षित, व्यवस्थित र चुस्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ।





