विवादित निजी लगानी योजनामा फिफाले माग्यो माफी, इन्फान्टिनोलाई व्यवस्थापन बोर्डको समर्थन

ड्रागन मिडिया समाचार कक्ष
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताका व्यावसायिक अधिकारसँग सम्बन्धित संस्थामा निजी लगानी भित्र्याउने विवादित प्रस्ताव अघि बढाउँदा प्रक्रियागत गल्ती भएको स्वीकार गर्दै आफ्ना २११ सदस्य संघसँग माफी मागेको छ।
मोरक्कोको राजधानी रबातनजिकै सालेस्थित फिफाको अफ्रिकी कार्यालयमा बुधबार बसेको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा प्रस्तावसम्बन्धी प्रक्रिया फरक ढङ्गले सञ्चालन गरिनुपर्ने स्वीकार गरिएको छ। फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोम र बैठकमा सहभागी व्यवस्थापन बोर्डका सदस्यले अध्यक्ष ज्यानी इन्फान्टिनोको नेतृत्वप्रति पूर्ण समर्थन दोहोर्याएका छन्।
फिफाले इन्फान्टिनो र ग्राफस्ट्रोमका तर्फबाट काउन्सिल सदस्य तथा राष्ट्रिय फुटबल संघहरूलाई पत्र पठाइएको जनाएको छ। पत्रमा भएका त्रुटिप्रति क्षमायाचना गर्दै भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिन आन्तरिक प्रक्रिया समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
‘फिफा फरवार्ड इन्टरप्राइज’ अर्थात एफएफई नामको प्रस्तावित व्यावसायिक संस्थाले पुरुष तथा महिला विश्वकप, क्लब विश्वकप, प्रसारण अधिकार, प्रायोजन, टिकट र आतिथ्य सेवासहित फिफाका आम्दानीमूलक गतिविधि सञ्चालन गर्ने योजना थियो।
करिब २० अर्ब अमेरिकी डलर मूल्याङ्कन गरिएको उक्त संस्थाको लगभग २० प्रतिशत स्वामित्व निजी लगानीकर्तालाई बिक्री गरी ४ अर्ब २० करोड डलर जुटाउने प्रस्ताव गरिएको थियो। प्रत्येक सदस्य संघलाई दुई करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावसमेत योजनामा समेटिएको थियो।
तर, फिफा काउन्सिल, सदस्य संघ र वरिष्ठ अधिकारीसँग पर्याप्त परामर्श नगरी योजना अघि बढाइएको भन्दै व्यापक विरोध भएको थियो। युरोपेली फुटबल महासंघ युइएफएले प्रस्ताव कायम रहे फिफाका प्रतियोगिता बहिष्कार गर्नेसम्मको चेतावनी दिएको थियो। प्रस्ताव फिर्ता लिएपछि पनि युइएफएले फिफाको नेतृत्वप्रतिको विश्वास गुमेको जनाएको छ।
महासचिव ग्राफस्ट्रोमले यसअघि फिफाका कर्मचारीलाई पठाएको आन्तरिक सन्देशमा घटनाक्रमलाई दुःखद र निन्दनीय भनेका थिए। फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोरले कर्मचारीलाई योजनाबारे वास्तविक जानकारी नदिइएको आरोप लगाएका थिए भने इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले विरोधस्वरूप राजीनामा दिएका थिए।
पूर्वपोर्चुगाली फुटबल स्टार लुइस फिगोले इन्फान्टिनोको तत्काल राजीनामा मागेका छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पनि वरिष्ठ अधिकारी र बोर्ड सदस्यसँग परामर्श नगरिएको विषय नेतृत्वका लागि गम्भीर असफलता भएको भन्दै इन्फान्टिनोप्रति विश्वास नरहेको बताउनुभएको छ।
आलोचना र राजीनामाको माग बढे पनि आकस्मिक बैठकपछि इन्फान्टिनोले आन्तरिक नेतृत्वको समर्थन कायम राखेका छन्। विवादित एफएफई प्रस्ताव भने औपचारिक रूपमा फिर्ता भइसकेको छ।
सन् २०१६ देखि फिफाको नेतृत्व गर्दै आएका ५६ वर्षीय इन्फान्टिनो सन् २०२७ मार्चमा मोरक्कोमा हुने फिफा निर्वाचनमा चौथो तथा अन्तिम कार्यकालका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। केही युरोपेली फुटबल संघले उहाँलाई दिइएको समर्थन फिर्ता लिए पनि अहिलेसम्म स्पष्ट प्रतिद्वन्द्वी उम्मेदवार सार्वजनिक भएको छैन।





