बेइजिङ सन् २०२९ का लागि विश्व वास्तुकला राजधानी घोषित
ड्रागन मिडिया समाचार कक्ष

चीनको राजधानी बेइजिङलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) र इन्टरनेशनल युनियन अफ आर्किटेक्ट्स (यूआईए)ले सन् २०२९ को विश्व वास्तुकला राजधानी घोषणा गरेका छन्।
विश्व वास्तुकला राजधानीसम्बन्धी संयुक्त समितिको सिफारिसपछि यूनेस्कोका महानिर्देशक खालिद एल–एनानीले बेइजिङलाई उक्त उपाधि प्रदान गर्नुभएको हो।
यूनेस्कोका अनुसार विश्वकै समृद्ध वास्तुकलात्मक सम्पदामध्ये एकलाई दिगो शहरी विकासको दूरदर्शी अवधारणासँग जोड्न बेइजिङले प्रदर्शन गरेको असाधारण क्षमताका आधारमा शहर छनोट गरिएको हो।
बेइजिङको ऐतिहासिक शहरी संरचना, सफल पुनरुत्थान परियोजना र जीवन्त वास्तुकलात्मक संस्कृतिले सम्पदा, नवीनता तथा सामुदायिक जीवनलाई एकअर्काका पूरकका रूपमा विकास गर्दै सहनशील र बस्नयोग्य शहर निर्माण गर्न सकिने उदाहरण प्रस्तुत गरेको यूनेस्कोले जनाएको छ।
“ब्याक टु ब्यालेन्स” अर्थात सन्तुलनतर्फ पुनरागमन भन्ने मूल विषयअन्तर्गत बेइजिङले सन् २०२९ भर वास्तुकलालाई संस्कृति, प्रकृति र मानव समुदायबीचको सेतुका रूपमा प्रस्तुत गर्नेछ। त्यस क्रममा प्रदर्शनी, सम्मेलन, शैक्षिक कार्यक्रम र सार्वजनिक गतिविधि सञ्चालन गरिनेछन्।
कार्यक्रममार्फत समावेशी, दिगो र मानवकेन्द्रित शहरी भविष्य निर्माणमा वास्तुकला तथा निर्मित वातावरणको भूमिकाबारे अन्तर्राष्ट्रिय संवाद प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
यूनेस्कोका महानिर्देशक एल–एनानीले बेइजिङको विशिष्ट वास्तुकलात्मक सम्पदा, तीव्र शहरी रूपान्तरण र भविष्यकेन्द्रित दृष्टिकोणले मानव जीवन सुधार तथा भावी पुस्ताका लागि साझा सम्पदा संरक्षणमा वास्तुकलाको शक्तिबारे नयाँ अन्तर्राष्ट्रिय संवादलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
यूनेस्को र यूआईएले संयुक्त रूपमा स्थापना गरेको विश्व वास्तुकला राजधानी कार्यक्रमले दिगो शहरी विकासमा वास्तुकला, शहरी योजना, संस्कृति र सम्पदाको रूपान्तरणकारी भूमिकालाई उजागर गर्छ।
प्रत्येक तीन वर्षमा आयोजना हुने यूआईए विश्व वास्तुविद् सम्मेलनको आयोजक शहरलाई यूनेस्को–यूआईए विश्व वास्तुकला राजधानी घोषणा गरिन्छ। उक्त शहरले वर्षभर सांस्कृतिक, शैक्षिक र व्यावसायिक गतिविधि सञ्चालन गर्छ।
ब्राजिलको रियो दि जेनेरियो सन् २०२० मा पहिलो विश्व वास्तुकला राजधानी बनेको थियो। त्यसपछि डेनमार्कको कोपेनहेगन सन् २०२३ र स्पेनको बार्सिलोना सन् २०२६ का लागि चयन भएका थिए। बेइजिङले सन् २०२९ मा यस कार्यक्रमको चौथो संस्करणको नेतृत्व गर्नेछ।





