निर्मला पन्तबारे प्रश्न नगर्न भनेका गृहमन्त्रीले संसदमा मागे माफी

ड्रागन मिडिया सम्वाददाता
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे प्रश्न गर्ने सांसदलाई थप प्रश्न नगर्न भनेपछि आक्रोशित देखिएका गृहमन्त्री सुधन गुरुङले केही समयपछि प्रतिनिधिसभामै माफी मागेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणमा सूक्ष्म अनुसन्धान भइरहेको भन्दै यस विषयमा बारम्बार प्रश्न नगर्न आग्रह गरेका थिए।
नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी प्रश्न गरेपछि गृहमन्त्री गुरुङले अनुसन्धान जारी रहेकाले अबदेखि यसबारे प्रश्न नगर्न भनेका थिए।
गृहमन्त्रीको जवाफपछि सांसद विश्वकर्माले पुनः प्रश्न गर्ने समय माग्दै निर्मला पन्तले कति महिना वा कति दिनभित्र न्याय पाउने हुन् भन्ने स्पष्ट जवाफ दिन आग्रह गरेका थिए। त्यसपछि आक्रोशित देखिएका गुरुङले उक्त प्रश्नको जवाफ नदिने बताएका थिए।
अन्य सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले आफ्नो प्रस्तुति केही ठाडो भएको स्वीकार गर्दै माफी मागेका हुन्।
‘मेरोतर्फबाट अलिकति ठाडो तरिकाले भयो जस्तो लाग्यो मलाई पनि। यसका लागि म माफी माग्न चाहन्छु,’ गुरुङले संसदमा भने।
उनले बैठकमा विपदसम्बन्धी विषयमाथि छलफल भइरहेका बेला निर्मला पन्त प्रकरण कसरी उठ्यो भनी प्रतिप्रश्नसमेत गरेका थिए। अनुसन्धानसँग सम्बन्धित सबै विवरण सार्वजनिक गर्न नमिल्ने भन्दै उनले परिणाम आउने गरी काम भइरहेको दाबी गरे।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। भोलिपल्ट उनको शव फेला परेको थियो। घटना भएको आठ वर्ष बितिसक्दा पनि अपराधीको पहिचान हुन नसक्दा अनुसन्धान र राज्यको न्याय प्रणालीमाथि निरन्तर प्रश्न उठिरहेको छ।





