१७ भाद्र २०८३, बुधबार

पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, मानवीय क्षति भएन

ड्रागन मिडिया सम्वाददाता

रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुलनजिक महेन्द्र राजमार्गमा बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर बिहान करिब ५ः३० बजे दुर्घटनामा परेको हो।

सडकमा अचानक आएको मृगलाई जोगाउने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्याङ्कर सडकको दाहिने किनारमा पल्टिएको र त्यसलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाका दमकलको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति भएको छैन।

दुर्घटनाका कारण केही समय प्रभावित बनेको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।

ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button