चार प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बनाइने

ड्रागन मिडिया सम्वाददाता
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका चार प्रादेशिक अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति दिएको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल धनगढी, लम्कीचुहा प्रादेशिक अस्पताल लम्की, टिकापुर प्रादेशिक अस्पताल टिकापुर र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरलाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार ती अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्न आवश्यक सम्झौता तथा अन्य कानुनी र प्रशासनिक प्रक्रिया सामाजिक विकास मन्त्रालयले अघि बढाउनेछ।
प्रदेश सरकारको निर्णयसँगै विश्वविद्यालयका चिकित्सा शिक्षा, तालिम तथा व्यावहारिक अभ्याससम्बन्धी गतिविधिका लागि चारवटै प्रादेशिक अस्पतालको पूर्वाधार र सेवा उपयोग गर्ने बाटो खुलेको छ।





