बिपी कोइराला क्यान्सर अस्पतालमा अत्याधुनिक बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी

ड्रागन मिडिया सम्वाददाता
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र चिकित्सकीय तयारी अघि बढाएको छ।
चीन सरकारको सहयोगमा सञ्चालन हुने परियोजनाअन्तर्गत नयाँ भवन निर्माण, अत्याधुनिक उपकरण खरिद तथा चिकित्सक र नर्सलाई आवश्यक तालिम प्रदान गरिने अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार चिनियाँ प्राविधिक टोली केही दिनअघि अस्पतालमा आएर दुई सातासम्म बसेको थियो। टोलीले परियोजनाका लागि आवश्यक पूर्वाधारबारे अध्ययन तथा छलफल गर्नुका साथै भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना र नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्राविधिकसँग सुझाव लिएको थियो।
परियोजनाको काम अघि बढाउन नेपाल सरकारसँग पुनः सम्झौता गर्नुपर्ने डा. नेपालले जानकारी दिए। अस्पतालको अन्तरङ्ग भवनअगाडि तीनतले नयाँ भवन निर्माण गर्ने प्रस्ताव रहेको छ। चिनियाँ टोलीले सन् २०२६ भित्रै निर्माण कार्य शुरु गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।
चीन सरकारले परियोजना सम्पन्न गर्न करिब तीन करोड ७० लाख चिनियाँ युआन खर्च गर्नेछ। उक्त रकम नेपाली रुपैयाँमा करिब ८४ करोड बराबर हुने अस्पतालको अनुमान छ।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार भवन निर्माण, आवश्यक उपकरण खरिद र जनशक्तिको तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्नेछ। यसअघि नेपाल सरकार र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग संस्था, चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीबीच परियोजनासम्बन्धी सम्झौता भइसकेको छ।
प्रस्तावित बोनम्यारो प्रत्यारोपण युनिट पाँच शैय्याको हुनेछ। प्रारम्भमा अस्पतालको पुरानो भवनमै युनिट सञ्चालन गर्ने तयारी गरिए पनि आवश्यक मापदण्ड पूरा गर्न कठिन हुने भएपछि छुट्टै भवन निर्माण गर्ने निर्णय गरिएको हो।
भवन निर्माणस्थलको माटो परीक्षणलगायत प्रारम्भिक प्राविधिक काम यसअघि नै सम्पन्न भइसकेको छ। निर्माण शुरु भएको एक वर्ष छ महिनाभित्र परियोजना सम्पन्न गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।
बोनम्यारो युनिटमा काम गर्ने अस्पतालका चिकित्सक र नर्समध्ये तीन जना हाल चीनमा तालिम लिइरहेका छन्। यसअघि तीन स्वास्थ्यकर्मीले छ महिनाको र पाँच जनाले दुई हप्ताको तालिम पूरा गरिसकेको डा. पौडेलले जानकारी दिए।
युनिटमा काम गर्ने थप जनशक्तिलाई पनि चीन सरकारका तर्फबाट आवश्यक विशेष तालिम उपलब्ध गराइनेछ।
डा. पौडेलका अनुसार प्रस्तावित युनिट सञ्चालनमा आएपछि यो स्तरको अत्याधुनिक बोनम्यारो प्रत्यारोपण सेवा नेपालमै पहिलो हुनेछ। हाल बोनम्यारो प्रत्यारोपण आवश्यक पर्ने धेरै बिरामी महँगो खर्च गरेर विदेश जान बाध्य छन्।
अस्पतालमा सेवा शुरु भएपछि बिरामीले तुलनात्मक रूपमा कम खर्चमा स्वदेशमै उच्चस्तरीय उपचार पाउने अपेक्षा गरिएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विसं २०५१ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो। त्यसयता चिनियाँ चिकित्सकले समेत अस्पतालमा निरन्तर रूपमा बिरामीको उपचार गर्दै आएका छन्।
अस्पतालमा नेपालका विभिन्न भागसँगै भारतबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गरेका छन्।





