बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो

ड्रागन मिडिया सम्वाददाता
सुदूरपश्चिम प्रदेशमा करिब दुई हजार ५०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने बझाङ–बनलेक अर्थात पश्चिम सेती ४०० केभी प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढाइएको छ।
करिब ६० किलोमिटर लामो प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका–१ मा प्रस्तावित चैनपुर सबस्टेसनबाट शुरु भई डोटीको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक अर्थात पश्चिम सेती सबस्टेसनमा जोडिनेछ।
आयोजना निर्माणको अनुमति प्राप्त गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन दिएको छ। विद्युत ऐन, २०४९ को दफा ४ अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक विवरणसहित अनुमतिपत्रका लागि आवेदन दिनुपर्ने व्यवस्था छ।
आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी र १६० एमभीए क्षमताको सबस्टेसन निर्माण गरिनेछ। त्यसैगरी बनलेकमा ४००/१३२ केभी र ३१५ एमभीए क्षमताको पश्चिम सेती सबस्टेसन निर्माण गर्ने प्रस्ताव गरिएको छ।
प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछ। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ। टावरहरूबीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर तथा न्यूनतम दूरी १२७ दशमलव ७९ मिटर रहने प्रस्ताव छ।
आयोजना निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ। त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर र विद्युत मार्गको क्षेत्राधिकारका लागि करिब २६५ हेक्टर जमिन आवश्यक पर्नेछ।
दुवै सबस्टेसन निर्माणका लागि कुल २१ दशमलव ४१ हेक्टर जमिन आवश्यक पर्ने प्रस्ताव गरिएको छ। बनलेक सबस्टेसनका लागि सात हेक्टर र चैनपुर सबस्टेसनका लागि १४ दशमलव ३७ हेक्टर जमिन आवश्यक पर्नेछ।
प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर चौडा रहनेछ। आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजना निर्माण तथा सञ्चालन गर्दा भूक्षय, बाढी, वायु प्रदूषणलगायत कारणबाट वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक उपाय अपनाइने प्रस्तावमा उल्लेख छ।
विद्युत विकास विभागले आयोजना निर्माणसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला व्यक्ति तथा संस्थासँग आवश्यक सुझाव र सल्लाह माग गरेको छ।





