१९ भाद्र २०८३, शुक्रबार

नारायणगढ–बुटवल सडक सहज र द्रुत, निर्माण प्रगति ९२ प्रतिशत

ड्रागन मिडिया सम्वाददाता

झण्डै सात वर्षसम्म निर्माणका कारण यात्रुले सास्ती व्यहोरेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अहिले सहज र द्रुत बनेको छ।

विगतमा दाउन्ने क्षेत्रको हिलो, धुलो र लामो जामका कारण यात्रुले रातभर सडकमै बिताउनुपर्ने अवस्था थियो। अहिले भने नारायणगढबाट बुटवलसम्मको यात्रा सामान्यतया दुई घण्टामा पूरा हुन थालेको छ। कतिपय निजी सवारीले करिब एक घण्टा ३० मिनेटमै दूरी पार गर्ने गरेका छन्।

वर्षायाम र चाडपर्वका बेला सडक अवरुद्ध हुँदा विगतमा धेरै यात्रु दसैँमा समेत घर पुग्न नसक्ने अवस्थामा थिए। सडकको दुरवस्थाका कारण कतिपयले पाल्पा, पोखरा वा कालीगण्डकी करिडोर हुँदै लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो। केही यात्रु भैरहवाबाट काठमाडौँ वा पोखरा उडेर चितवन पुग्ने गरेका थिए।

अहिले सडक फराकिलो र गुणस्तरीय बनेपछि यात्रु, उद्योगी, व्यवसायी तथा यातायात व्यवसायीले ठूलो राहत महसुस गरेका छन्।

यात्रु चढाउँदै र ओराल्दै सञ्चालन हुने सार्वजनिक सवारीसमेत करिब तीन घण्टामा नारायणगढबाट बुटवल पुग्न थालेका छन्। सडक सुधारसँगै सवारीसाधनमा हुने टुटफुट र बारम्बार मर्मत गर्नुपर्ने समस्या पनि घटेको यातायात व्यवसायीको अनुभव छ।

आयोजनाको पूर्वी खण्डका अनुसार दुवै खण्डको निर्माण प्रगति हाल करिब ९२ प्रतिशत पुगेको छ। अब सडक सुरक्षासम्बन्धी संरचना निर्माण तथा केही स्थानमा नाली जोड्नेलगायत काम मात्र बाँकी छन्।

कुल ११३ दशमलव ३५ किलोमिटर लामो सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण अघि बढाइएको थियो। करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको आयोजनामा एसियाली विकास बैंकको ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले विसं २०७५ चैत ८ गतेदेखि सडक निर्माण शुरु गरेको थियो। आयोजनाअन्तर्गत २८ किलोमिटर बजार क्षेत्रलाई छ लेन र बाँकी सडकलाई चार लेनमा विस्तार गरिएको छ।

सडकलाई ६५ किलोमिटर लामो नारायणगढ–दाउन्ने पूर्वी खण्ड र करिब ४९ किलोमिटर लामो दाउन्ने–बुटवल पश्चिमी खण्डमा विभाजन गरी निर्माण गरिएको हो।

आयोजना पूर्ण रूपमा सम्पन्न हुने अन्तिम चरणमा पुगेसँगै पूर्व–पश्चिम यात्रा गर्ने यात्रुका लागि समय, खर्च र जोखिम घटेको छ। सडक सुधारले यात्रु आवागमनसँगै ढुवानी, व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button