१७ भाद्र २०८३, बुधबार

न्युजिल्यान्डले भविष्यको रोजगारी लक्षित नौ नयाँ विद्यालय विषय शुरु गर्ने

ड्रागन मिडिया समाचार कक्ष

न्युजिल्यान्ड सरकारले विद्यार्थीलाई भविष्यको रोजगारीका लागि तयार पार्ने र प्रमुख उद्योग क्षेत्रमा आवश्यक जनशक्ति अभाव सम्बोधन गर्ने उद्देश्यले माध्यमिक तहमा नौ नयाँ उद्योग–आधारित विषय सञ्चालन गर्ने घोषणा गरेको छ।

शिक्षामन्त्री एरिका स्ट्यानफोर्डले बिहीबार सार्वजनिक गर्नुभएको योजनाअनुसार नयाँ विषयमा अत्याधुनिक उत्पादन, व्यावहारिक बुद्धिमान प्रणाली, निर्माण तथा निर्मित वातावरण, ऊर्जा तथा पूर्वाधार, इञ्जिनियरिङ प्रविधि, खाद्य तथा फाइबर प्रणाली, स्वास्थ्य सेवा तथा हेरचाह, आतिथ्य–खाद्य तथा पेय पदार्थ र पर्यटन समावेश छन्।

यी विषय सन् २०२९ देखि कक्षा १२ र १३ का विद्यार्थीका लागि सञ्चालन गरिनेछन्। उद्योग क्षेत्रसँगको सहकार्यमा विकास गरिने पाठ्यक्रमले विद्यार्थीलाई व्यावहारिक र रोजगारीसँग प्रत्यक्ष सम्बन्धित शीप प्रदान गर्ने सरकारको लक्ष्य छ।

स्ट्यानफोर्डका अनुसार नयाँ विषयले विद्यार्थीलाई विश्वविद्यालय शिक्षा, प्राविधिक पेशा, व्यावसायिक तालिम वा प्रत्यक्ष रोजगारीतर्फ जाने स्पष्ट मार्ग उपलब्ध गराउनेछन्।

नयाँ विषयलाई अंग्रेजी र गणितजस्ता परम्परागत विषयसरह मान्यता दिइनेछ। ती विषयबाट प्राप्त नतिजा राष्ट्रिय माध्यमिक शिक्षा योग्यतामा समेत गणना हुने बताइएको छ।

आर्थिक वृद्धि मन्त्री निकोला विलिसले सरकारले सन् २०२६ को बजेटमा नयाँ व्यावहारिक योग्यता विकासका लागि एक करोड ५० लाख न्युजिल्यान्ड डलर अर्थात करिब ८८ लाख ३० हजार अमेरिकी डलर विनियोजन गरेको जानकारी दिनुभएको छ।

उहाँका अनुसार विद्यार्थीले अध्ययन गर्न चाहने र रोजगारदातालाई आवश्यक पर्ने व्यावहारिक योग्यताबीच सम्बन्ध स्थापित गर्नु योजनाको मुख्य उद्देश्य हो।

आर्थिक वृद्धि हुँदै जाँदा युवा न्युजिल्यान्डवासीका लागि थप अवसर सिर्जना हुने उल्लेख गर्दै विलिसले नयाँ विषयले ऊर्जा, निर्माण, इञ्जिनियरिङ, खाद्य तथा फाइबर, स्वास्थ्य र पर्यटन क्षेत्रमा प्रवेश गर्ने स्पष्ट बाटो तयार गर्ने बताउनुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button