१७ भाद्र २०८३, बुधबार

मर्दी हिमालबाट फर्कँदा सम्पर्कविहीन तीन युवक सकुशल फेला

ड्रागन मिडिया सम्वाददाता

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा नजिकको जङ्गलबाट सम्पर्कविहीन भएका तीन युवक सकुशल फेला परेका छन्।

पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा बिहीबार बिहान अन्नपूर्ण गाउँपालिका–११ स्थित छुमरुङवेशीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले तीनै जना सकुशल भेटिएको र उनीहरूको उद्धार भइरहेको जानकारी दिनुभएको छ।

बुधबार बिहान ८ बजेदेखि तीनै जनाको मोबाइल फोन बन्द भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका थिए। पदयात्राबाट फर्कने क्रममा जङ्गलमा बाटो बिराएपछि उनीहरू अलपत्र परेका थिए।

सम्पर्कविहीन युवकहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

घान्द्रुक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलका अनुसार उनीहरूलाई मोदी खोलापारि पर्ने छुमरुङवेशी क्षेत्रमा फेला पारिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button