धुलिखेल–अली प्रिफेक्चर भगिनी शहर सम्बन्ध सुदृढीकरणमा जोड

ड्रागन मिडिया सम्वाददाता
धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङस्थित अली प्रिफेक्चरबीच कायम भगिनी शहर सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
धुलिखेल नगरपालिकाका अनुसार चीनबाट आएको अली प्रिफेक्चरको प्रतिनिधिमण्डलसँग पर्यटन, व्यापार, लगानी, शिक्षा, संस्कृति, ‘हेल्दी सिटी’ अवधारणा, दिगो विकास तथा जलवायु कार्यलगायत साझा चासोका विषयमा अनुभव आदानप्रदान गरिएको हो।

अन्तरक्रियाका क्रममा दुवै पक्षबीच भविष्यमा सहकार्य गर्न सकिने सम्भावित क्षेत्र पहिचान गर्दै विकास साझेदारीलाई थप विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको नगरपालिकाले जनाएको छ।
अली प्रिफेक्चरको प्रतिनिधिमण्डलको भ्रमणले धुलिखेल र अलीबीचको मित्रता, आपसी विश्वास, सांस्कृतिक सम्बन्ध तथा दीर्घकालीन विकास साझेदारीलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, होटल एसोसिएसन अफ नेपाल धुलिखेल, धुलिखेल उद्योग वाणिज्य संघ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
धुलिखेल नगरपालिकाले अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउँदै समृद्ध, दिगो र विश्वसँग जोडिएको नगर निर्माणतर्फ निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ।





