चिनियाँ माछा मार्ने जहाजद्वारा समुद्रमा फसेका पाँच सिएरा लियोनी मछुवाको उद्धार

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ माछा मार्ने जहाज ‘युआनयु ७०८’ ले खराब मौसमका कारण डुङ्गा डुबेपछि समुद्रमा फसेका सिएरा लियोनका पाँच मछुवाको सकुशल उद्धार गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार भारी वर्षा र शक्तिशाली छालबीच नियमित निगरानीमा रहेका जहाजका कप्तान वाङ पिङचाओले डुब्न लागेको स्थानीय माछा मार्ने डुङ्गाबाट सङ्कटको सङ्केत देख्नुभएको थियो। सङ्केत देखेलगत्तै उहाँले जहाजलाई पूर्ण गतिमा घटनास्थलतर्फ लैजान निर्देशन दिनुभएको थियो।
युआनयु ७०८ घटनास्थलमा पुग्दासम्म माछा मार्ने डुङ्गा पूर्ण रूपमा डुबिसकेको थियो। पर्याप्त जीवनरक्षक सामग्री नभएका पाँचै मछुवा समुद्रमा सङ्घर्ष गरिरहेका थिए। चिसो पानीका कारण शरीरको तापक्रम अत्यधिक घट्ने र डुबेर ज्यान जाने गम्भीर जोखिममा उनीहरू रहेको जहाजका चालक दलले बताएका छन्।
चिनियाँ जहाजले तत्काल आपत्कालीन उद्धार प्रक्रिया सक्रिय गरी सम्बन्धित कम्पनीको व्यवस्थापनलाई घटनाबारे जानकारी गराएको थियो। त्यसपछि चिकित्सा कर्मचारीसहितको सहयोगी जहाज ‘चाङ रोङ–३’ लाई घटनास्थलतर्फ पठाइएको थियो।
युआनयु ७०८ का चालक दलले तीव्र गतिमा उद्धार अभियान सञ्चालन गर्दै पाँचै मछुवालाई सुरक्षित रूपमा जहाजमा ल्याएका थिए। उद्धारपछि उनीहरूलाई सुक्खा पोषाक, खाना, पिउने पानी, प्राथमिक उपचार तथा मानसिक सान्त्वना प्रदान गरिएको थियो।
पछि सिएरा लियोनको नौसेना र स्थानीय निकायका प्रतिनिधिहरूले जहाजको भ्रमण गरी चिनियाँ चालक दलले प्रदर्शन गरेको व्यावसायिकता, साहस र मानवीय सेवाको प्रशंसा गरेका थिए।
स्थानीय सञ्चारमाध्यमले समुद्रमा प्रतिकूल मौसमका बीच गरिएको उक्त उद्धारलाई समयमै भएको प्रभावकारी र मानवीय कारवाहीका रूपमा उल्लेख गरेका छन्।





