एक करोड ७१ लाख भ्रष्टाचारको आरोपमा आठबिसकोटका मेयरसहित ११ जनाविरुद्ध मुद्दा

ड्रागन मिडिया सम्वाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका मेयर रवि केसीसहित ११ जनाविरुद्ध एक करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगले दुग्ध सहकारीमार्फत डेरी तथा चिस्यान केन्द्र सञ्चालन गर्ने उद्देश्यले उपलब्ध गराइएको सरकारी अनुदान दुरुपयोग भएको दाबी गर्दै बिहीबार मुद्दा दायर गरेको हो।
मुद्दामा मेयर केसीसँगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन पशु विकास अधिकृत तथा निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का र लेखा अधिकृत यमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ।
त्यसैगरी कृषि विकास कार्यालय रुकुम पश्चिमका कृषि अधिकृत मिनबहादुर केसी तथा आठबिसकोट दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव गोविन्दप्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
आयोगका अनुसार कर्णाली प्रदेश सरकारले आठबिसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र स्थापना तथा सञ्चालनका लागि ९१ लाख १७ हजार ८७३ रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। तर, उक्त रकम खर्च गरी स्थापना गरिएको भनिएको चिस्यान केन्द्र दुई वर्षसम्म पनि सञ्चालनमा नआएको आयोगको दाबी छ।
चिस्यान केन्द्र सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै आठबिसकोट नगरपालिकाले सहकारीलाई थप ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको आरोपपत्रमा उल्लेख गरिएको छ।
उक्त रकमबाट एउटा दूध बोक्ने ट्याङ्कर र दुईवटा सिङ्गल क्याब गाडी खरिद गरी सहकारीलाई उपलब्ध गराइएको थियो। आयोगले सञ्चालनमै नआएको परियोजनामा थप सरकारी सम्पत्ति उपलब्ध गराएर सार्वजनिक रकमको दुरुपयोग गरिएको दाबी गरेको छ।
प्रदेश सरकार र नगरपालिकाबाट उपलब्ध गराइएको अनुदान तथा सम्पत्तिको कुल मूल्य एक करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ कायम गरी सोही बराबरको बिगो तथा कानुनबमोजिम सजाय माग गरिएको छ।
आरोपपत्रमा प्रस्तुत दाबी र प्रतिवादीहरूको कानुनी जिम्मेवारीबारे अन्तिम निर्णय विशेष अदालतको सुनुवाइपछि हुनेछ।





