१९ भाद्र २०८३, शुक्रबार

‘द भ्वाइस किड्स नेपाल’को सेमिफाइनलमा पुगेकी रुइसाङ पाख्रिनलाई सिक्किमका मुख्यमन्त्रीको शुभकामना

ड्रागन मिडिया समाचार कक्ष

भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘द भ्वाइस किड्स नेपाल’ सिजन–५ को सेमिफाइनलमा पुगेकी सिक्किमकी बालप्रतिभा रुइसाङ पाख्रिनलाई सफलताको शुभकामना दिनुभएको छ।

मुख्यमन्त्री तामाङले गान्तोक जिल्लाको अपर सिचेका प्रसिद्ध नेपाली लोकगायक सिरि कुमार पाख्रिनसँग भेट गरी उहाँकी नातिनी रुइसाङको सांगीतिक उपलब्धिप्रति खुसी व्यक्त गर्नुभएको हो।

रुइसाङ गान्तोकस्थित ताशी नामग्याल एकेडेमीकी विद्यार्थी हुन्। उनले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै प्रतियोगिताको सेमिफाइनल चरणसम्मको यात्रा तय गरेकी छन्।

मुख्यमन्त्री तामाङले रुइसाङको उपलब्धिलाई सिक्किमका लागि ठूलो गौरवको विषयका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले प्रतिभाशाली बालगायिकाले नेपालको चर्चित सांगीतिक मञ्चमा सिक्किमको प्रतिनिधित्व गर्दै अघि बढिरहेकोमा प्रशंसा व्यक्त गर्नुभएको छ।

उहाँले आगामी प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन र सफलताका लागि रुइसाङलाई शुभकामना दिनुभएको छ।

रुइसाङको सेमिफाइनल यात्रा सिक्किमका बालबालिका तथा संगीत क्षेत्रमा अघि बढ्न चाहने नवप्रतिभाका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button